गुल्मी । गुल्मीमा सडक बालबालिकाकाे नामले चिनिने दर्जन बढी बालबालिका मध्ये दुई जना मात्रै अभिभावक विहीन रहेको पहिचानका क्रममा खुलेको छ । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेण बहादुर खत्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितका सराेकारवालाहरुले सडक बालबालिकासँग बसेर पहिचान गर्ने क्रममा अधिकांश बालबालिका सदरमुकाम तम्घासमै बुबाआमा रहेको र दुई जना मात्रै अभिभावक विहीन रहेको खुलेकाे हो । धुर्काेट गाउँपालिकाका एक परिवार, इस्मा गाउँपालिकाका एक परिवार र मदाने गाउँपालिकाका एक परिवार गरी मुख्य तीन परिवार सदरमुकाम तम्घासस्थित बुढाथोकी बसपार्कमा बस्छन् । उनीहरुका दुईदेखि सात जना सम्म छाेराछाेरी छन् । उनीहरू सबै तम्घासका सडकमा सडक बालबालिकाक रुपमा परिचित छन् । उनीहरुका अभिभावक गैरजिम्मेवार बन्दा गुल्मीकाे तम्घासमा सडक बालबालिकाकाे समस्या जटिल बन्दै गएको हो । रेसुङ्गा नगरपालिकाकाे अगुवाइमा विगतदेखि नै सडक बालबालिकाकाे व्यवस्थापनमा कैयौं प्रयास भएपनि यसले सार्थकता पाउन सकेको छैन् । यसअघि छ महिना हाेस्टेलमा राखेर आनीबानी सुधार गरेर विद्यालय पठाएपनि उनीहरू मध्ये केही विद्यालय जान लागेपनि अधिकांश सडकमै फर्किएका हुन् । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले तम्घासका सडकमा हिड्ने बालबालिकालाई सडक बालबालिका पनि भन्न नहुने बताउँछन् । अभिभावक विहीन भएर बेवारिसे अवस्थामा सडकमा भेटिएका बालबालिका सडक बालबालिका हुने र तिनिहरुकाे व्यवस्थापन पनि गर्न सकिने नगरप्रमुअ पन्थीले बताए । तर, अभिभावकसँगै रहेर पनि सडकमा हिड्ने र अभिभावक गैरजिम्मेवार बनेकाेले अब अभिभावकलाई नै छलफलमा राखेर व्यवस्थापन गर्ने तयारी गरेको बताए । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले सडक बालबालिका अभिभावकसहित रहेकाेले अभिभावक नै जिम्मेवार बन्नुपर्ने बताए । उनले अब अभिभावकले नै जिम्मा लिनुपर्ने र अभिभावक विहीनकाे व्यवस्थापन गर्ने तयारी रहेको बताए ।
तपाईंको प्रतिक्रिया
-
महतारा Live Gulmi का सह-सम्पादक हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य