गुल्मी । दसैंको टीका र जमरा लगाएपछि पहाडी जिल्लामा सराय नाचको रौनक सुरु हुन्छ। गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान र बाग्लुङका गाउँबस्तीमा नौमती बाजाको तालसँगै नाचिने सरायले दसैंलाई थप उल्लासमय बनाउँछ। कोजाग्रत पूर्णिमासम्म शक्तिपीठ, ऐतिहासिक गढी तथा किल्लामा आयोजना हुने सराय नाचले गाउँबस्तीलाई गुञ्जायमान बनाउने गरेको छ।
खुकुरी, तरबार, खुँडा, खङ्ग र लठ्ठीजस्ता परम्परागत हातहतियार हातमा लिएर गोलो घेरामा नाचिने सरायको आफ्नै मौलिकता छ। बाजाको तालमा हातहतियार घुमाउँदै, एकअर्कासँग ठोक्काउँदै र भट्याउँदै नाचिने यो शैलीले दसैंको सांस्कृतिक रौनक झल्काउँछ। नाचका क्रममा ‘नौ दुर्गा देवी हो… ओ… वाख्खै, रक्षा गर हो… ओ… वाख्खै, दसैंको बेला हो… ओ… वाख्खै, खेल भाइ हो हो… ओ… वाख्खै, बाँचे आइसल हो… ओ… वाख्खै’ जस्ता भाका सुनिन्छन्।
सराय केवल मनोरञ्जनको माध्यम मात्र होइन, यसले ऐतिहासिक विरासत र सांस्कृतिक पहिचानसमेत बोकेको छ। इतिहासविद्हरूका अनुसार वि.सं. १८१४ मा बुटवलको जितगढी किल्लामा पाल्पाको नुवाकोट गढीबाट कर्णेल उजिरसिंह थापाको नेतृत्वमा गएको नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेपछि विजयको खुसीयालीमा हातहतियारसहित नाचगान गरिएको थियो। बाइसे–चौबिसे राज्यको एकीकरणका क्रममा युद्ध जितेपछि खुसीयाली मनाउने परम्परासँग पनि सराय जोडिएको इतिहासका खोजकर्ताहरू बताउँछन्।
सरायको सुरुवात र विस्तारबारे अध्ययन गरिरहेका मदाने गाउँपालिका–७ का विष्णु घर्तीका अनुसार गुल्मीका अर्जै, धुर्कोट, चोयगा, मुसिकोट, इस्मा, पौदीअमराई र धागिथुमलगायतका स्थानमा सराय नाचको पुरानो परम्परा छ। उनका अनुसार गुल्मीका ५० भन्दा बढी स्थानसँगै अर्घाखाँची, पाल्पा, प्यूठान, बाग्लुङ र कपिलवस्तुमा पनि सराय नाचिन्छ।
‘सराय अर्घाकोट र खाँचीबाट सुरु भएको पाइन्छ,’ घर्तीले भने, ‘बसाइँसराइसँगै सराय विभिन्न ठाउँमा विस्तार भएको छ।’ अहिले काठमाडौंमा समेत सराय नाच आयोजना हुन थालेको छ। नेपालीको बाक्लो बसोबास रहेका विदेशका सहरमा पनि यो परम्परा पुग्न थालेको छ।
गुल्मीको मालिका गाउँपालिका–६ अर्जैमा दसैंको पूर्णिमाका दिन लाग्ने सराय विशेष चर्चित छ। स्थानीय कालिका मन्दिरबाट सराय निकाल्ने गरिएको स्थानीय अगुवा शेरबहादुर केसीले बताए। पूर्णिमाका दिन अर्जैमा सराय हेर्न हजारौँको संख्यामा मानिस पुग्ने गरेको स्थानीय बताउँछन्। गुल्मीको पश्चिम क्षेत्रकै प्रसिद्ध सरायमध्ये पर्ने अर्जैको नाच दसैंको अवसरमा गाउँ फर्किएकाहरूका लागि आफन्त र साथीभाइसँग भेटघाट गर्ने माध्यमसमेत बनेको छ।
स्थानीय अगुवा शिवलाल ज्ञवालीका अनुसार अर्जैमा श्रीकृष्ण ज्ञवालीले झन्डै एक शताब्दीअघि सुरु गरेको सराय नाच अहिले पनि उनकै परिवारको अगुवाइमा सञ्चालन हुँदै आएको छ। ‘अर्जैको सराय भनेपछि निकै प्रचलित छ,’ उनले भने, ‘थेग्नै नसक्ने भीडका बीच दसैंको सराय नाच हुन्छ।’
छत्रकोट गाउँपालिका–३ चोयगामा पनि दसैंको पूर्णिमाका दिन भव्य सराय नाच आयोजना गरिन्छ। गुल्मीका अर्जै, चोयगा, धुर्कोट, चारपाला दरबार, जोगिथुम, धागिथुम, मुसिकोट, इस्मा मैदान, दर्लामचौर, हस्तिचौर, राङदाल, ताल्तुङ्ग, मदाने, तिखेचुली, रोल्म, घमिर, अर्खबाङ, ह्वाङ्दी, दर्लिङ, नेटा, छाप र हिलेलगायतका स्थानमा एकादशीदेखि पूर्णिमासम्म सराय नाच्ने चलन छ।
गुल्मीबाहेक अर्घाखाँचीका अर्घा, रागामारे, खाँचीकोट, चौडिला र अर्घातोषमा सराय नाचिन्छ। पाल्पाका मुझुङ, कोटबासपानी, लिपिन्देवी, भारकोट र ख्याहामा पनि यसको परम्परा छ। प्यूठानका बिजुवार, गढीकोट, रजवारा, बाङ्गे, मच्छी, तुसाराकोट, पौवा, बाहाने, मार्के, सेउलवाङ र खर्वाङमा सराय नाच आयोजना गरिन्छ। बाग्लुङका गुल्मीसँग सीमा जोडिएका क्षेत्र तथा कपिलवस्तुको पथ्थरकोटमा समेत सराय नाच्ने गरिन्छ।
घर्तीका अनुसार सराय नाचमा छिमले खेल्ने, तुरी खेल्ने, गोलो घेरामा नाच्ने, भट्याउने र पट्टा खेल्नेजस्ता परम्परागत शैली समेटिएका हुन्छन्। तत्कालीन समयमा युद्ध जितेर फर्किएका लडाकुहरूले ‘सर गरी आएँ’ भन्ने शब्द प्रयोग गरेको र त्यही शब्द अपभ्रंश हुँदै ‘सर आएँ’ बाट ‘सराय’ वा ‘सराएँ’ बनेको हुन सक्ने उनको अध्ययनमा उल्लेख छ।
‘दसैंसँगै सराय नाच हाम्रो संस्कार र संस्कृति हो,’ घर्तीले भने, ‘वडादसैंको अभिन्न अंग सराय हो। यसको संरक्षणले हाम्रै पहिचान स्थापित गर्छ।’ घर्ती हाल पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।
वर्षभरि सुनसानजस्तै रहने ग्रामीण बस्ती दसैंको समयमा भने चहलपहलले भरिन्छन्। एकादशीदेखि पूर्णिमासम्म फरकफरक स्थानमा आयोजना हुने सराय नाचले गाउँमा उत्सवको वातावरण सिर्जना गर्छ। गाउँ फर्किएका आफन्तसँगको भेटघाट, स्थानीय व्यापारको चहलपहल र सांस्कृतिक परम्पराको निरन्तरतासँग जोडिएको सराय अहिले पनि दसैंको महत्त्वपूर्ण आकर्षण बनेको छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको यो परम्पराले पहाडी क्षेत्रको मौलिक संस्कृति र सामुदायिक सम्बन्धलाई जीवन्त राखेको छ।









