मदानेको अग्लुङ : सेवा र विकास सँगसँगै, स्वास्थ्य र शिक्षामा सुधार



अनिल खत्री


गुल्मी । ग्रामीण क्षेत्रका नागरिकले आशिर्षक धारभूत स्वास्थ्य सेवा सहज र समयमै पाउनुपर्ने अधिकारलाई व्यवहारमै कार्यान्वयन गर्ने उद्देश्यले गुल्मीको मदाने गाउँपालिका–१, अग्लुङ्गले विगत तीन वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ। विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी सञ्चालन गरिएको यो सेवाले ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य संस्थासम्म पुग्न ठूलो राहत पुर्‍याएको छ।

गाउँमा यातायातको सहज पहुँच नहुनु, आकस्मिक अवस्थामा तत्काल सवारी साधन नपाइनु तथा आर्थिक अभावका कारण उपचारका लागि अस्पतालसम्म पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै वडाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको हो। यसबाट गर्भावस्था र प्रसूति अवस्थाका जटिलतामा रहेका महिलालाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहज भएको वडा कार्यालयले जनाएको छ।

वडाभित्रका विभिन्न स्थानबाट सुत्केरी महिलालाई अस्पतालसम्म लैजानेदेखि उपचारपछि सुरक्षित रूपमा घर फर्काउनेसम्मको व्यवस्था यस सेवामार्फत हुँदै आएको छ। ग्रामीण क्षेत्रमा सामान्य अवस्थामा समेत सवारी साधनको अभाव हुने र प्रसूति तथा आकस्मिक स्वास्थ्य अवस्थाका बिरामीलाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने भएकाले निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बनेको स्थानीयको भनाइ छ।

स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम अहिले अग्लुङ्गको पहिचानसँग जोडिएको छ। वडाले आमा सुरक्षाको क्षेत्रमा गरेको कामकै कारण ‘शून्य वडा’ घोषणा गर्न सफल भएको वडा अध्यक्ष सुशील चन्दले बताए। उनका अनुसार आमा तथा नवजात शिशुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर वडा कार्यालयले निरन्तर काम गर्दै आएको छ।

( Jeevan rajan

तीन वर्षमा सेवा लिनेको सङ्ख्या बढ्दै

वडा कार्यालयले सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवाबाट लाभान्वित हुने सुत्केरी महिलाको सङ्ख्या हरेक वर्ष बढ्दै गएको तथ्याङ्कले देखाउँछ।

उपलब्ध तथ्याङ्कअनुसार सेवा सञ्चालनको पहिलो वर्ष ३४ जना सुत्केरी महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिएका थिए। दोस्रो वर्ष यो सङ्ख्या बढेर ४२ पुगेको थियो। चालु वर्षमा मात्रै हालसम्म २२ जना सुत्केरी महिलाले उक्त सेवा लिइसकेका छन्।

तीन वर्षको अवधिमा मात्रै ९८ जना सुत्केरी महिलाले निःशुल्क एम्बुलेन्स सेवा लिइसकेको तथ्याङ्क छ। यसले सेवा ग्रामीण क्षेत्रका नागरिकका लागि कति आवश्यक र प्रभावकारी बन्दै गएको छ भन्ने देखाउँछ।

सुत्केरी अवस्थामा अस्पतालसम्म पुग्नुपर्ने महिलाका लागि एम्बुलेन्स भाडा आफैँ तिर्नुपर्ने बाध्यता हट्नुका साथै समयमै स्वास्थ्य संस्था पुग्ने वातावरण बनेको वडा कार्यालयको दाबी छ। अझ ग्रामीण सडकको अवस्था, लामो दूरी र आकस्मिक स्वास्थ्य अवस्थालाई हेर्दा यस्तो सेवा विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारका लागि झनै महत्वपूर्ण बनेको छ।

रिफर र अप्रेसनका बिरामीलाई पनि सहयोग

अग्लुङ्गको स्वास्थ्यसम्बन्धी पहल निःशुल्क एम्बुलेन्स सेवामा मात्र सीमित छैन। स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभई अन्यत्र रिफर गर्नुपर्ने जटिल प्रकृतिका सुत्केरी तथा बिरामीलाई समेत वडा कार्यालयले आवश्यक सहयोग गर्दै आएको वडा अध्यक्ष सुशील चन्दले बताए।

स्थानीय स्वास्थ्य संस्थाबाट अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था आएमा तथा शल्यक्रिया अर्थात् अप्रेसन गर्नुपर्ने केसमा बिरामीलाई आवश्यकताअनुसार सवारी साधनको भाडाबापतको रकम उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए।

ग्रामीण क्षेत्रमा उपचारका लागि बाहिर जानुपर्दा सवारी साधनको खर्चसमेत परिवारका लागि ठूलो आर्थिक भार बन्ने गरेको छ। त्यसमाथि प्रसूति तथा आकस्मिक अवस्थाका बिरामीलाई लामो दूरीको अस्पतालसम्म लैजानुपर्ने अवस्थामा खर्चको समस्या झनै जटिल बन्ने गर्छ। यस्तो अवस्थामा वडा कार्यालयले उपलब्ध गराउने सहयोगले विपन्न परिवारलाई प्रत्यक्ष राहत पुगेको छ।

स्वास्थ्य संस्थाबाट रिफर भएका बिरामीलाई समयमै अन्यत्र लैजान सक्ने वातावरण बनाउनुका साथै उपचारमा आर्थिक समस्या भएका परिवारलाई सहयोग गर्ने वडाको नीतिले स्वास्थ्य सेवामा स्थानीय सरकारको प्रत्यक्ष उपस्थितिलाई समेत देखाएको छ।

आमा सुरक्षामा ‘शून्य वडा’

अग्लुङ्गले आमा सुरक्षाको क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको वडा अध्यक्ष चन्दले बताए। गर्भवती महिलाको स्वास्थ्य परीक्षण, प्रसूति सेवाका लागि स्वास्थ्य संस्थासम्मको पहुँच तथा जटिल अवस्थामा तत्काल उपचारको व्यवस्था मिलाउने विषयलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

गर्भावस्था सामान्य भए पनि प्रसूति समयमा जटिलता उत्पन्न हुन सक्ने भएकाले स्वास्थ्य संस्थासम्म सहज पहुँचलाई महत्वपूर्ण मानिएको छ। यही आवश्यकतालाई ध्यानमा राखेर निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको वडा कार्यालयको भनाइ छ।

‘आमा सुरक्षामा शून्य वडा’ बनाउने लक्ष्यसँगै स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रयासले अग्लुङ्गलाई मदाने गाउँपालिकाभित्र अब्बल वडाका रूपमा स्थापित गर्न सहयोग पुगेको वडा अध्यक्ष चन्दले बताए।

स्वास्थ्यसँगै शिक्षामा पनि प्राथमिकता

वडाको विकासको प्राथमिकता स्वास्थ्यमा मात्र सीमित छैन। वडाध्यक्ष सुशील चन्दको नेतृत्वमा शिक्षा क्षेत्रको सुधारलाई समेत प्राथमिकतामा राखिएको छ।

बालबालिकाले गाउँमै गुणस्तरीय शिक्षा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले विद्यालयको शैक्षिक वातावरण सुधार, आवश्यक पूर्वाधार निर्माण तथा पठनपाठनलाई प्रभावकारी बनाउनेतर्फ विभिन्न पहलहरू अगाडि बढाइएको वडा कार्यालयले जनाएको छ।

ग्रामीण क्षेत्रमा विद्यालय जाने उमेरका बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनु विकासको महत्वपूर्ण आधार भएकाले विद्यालयको भौतिक अवस्था सुधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धिका कार्यक्रमलाई समेत प्राथमिकता दिइएको छ।

विद्यालय भवनलगायत आवश्यक भौतिक संरचना निर्माणमा पनि वडा कार्यालयले पहल गर्दै आएको छ। विद्यालयको पूर्वाधार बलियो बनाएर बालबालिकाका लागि सुरक्षित र अनुकूल सिकाइ वातावरण निर्माण गर्ने प्रयास भइरहेको छ।

सडक र यातायातमा पनि जोड

स्वास्थ्य र शिक्षासँगै अग्लुङ्गले भौतिक पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राखेको छ। वडाभित्रका बस्तीलाई सडक सञ्जालसँग जोड्ने तथा नागरिकको दैनिक आवतजावतलाई सहज बनाउने उद्देश्यले मोटरबाटो निर्माण तथा विस्तारमा जोड दिइएको छ।

ग्रामीण क्षेत्रको विकासमा सडकको पहुँचलाई महत्वपूर्ण आधार मानिन्छ। सडक पुगेपछि मात्रै स्वास्थ्य संस्था, विद्यालय, बजार तथा अन्य सेवा केन्द्रसम्म नागरिकको पहुँच सहज हुने भएकाले वडाले सडक निर्माण तथा विस्तारलाई प्राथमिकतामा राखेको हो।

विशेषगरी स्वास्थ्य सेवाको दृष्टिले पनि सडक र यातायातको पहुँच महत्वपूर्ण छ। गर्भवती महिला, सुत्केरी, ज्येष्ठ नागरिक तथा आकस्मिक अवस्थाका बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सडकको अवस्था राम्रो हुनु आवश्यक हुन्छ। यही कारण स्वास्थ्य र सडक पूर्वाधारलाई एकअर्कासँग जोडेर विकासका काम अघि बढाइएको वडा कार्यालयको भनाइ छ।

खानेपानी र अन्य पूर्वाधारमा पनि काम

अग्लुङ्गमा खानेपानीलगायत आधारभूत पूर्वाधारको विकासमा पनि काम भइरहेको छ। नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै गाउँमा बस्न योग्य वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

स्वास्थ्य, शिक्षा, सडक, खानेपानी तथा विद्यालयका भौतिक संरचना निर्माणजस्ता क्षेत्रमा समानान्तर रूपमा काम अघि बढाउँदा वडाको समग्र विकासमा सकारात्मक प्रभाव परेको स्थानीयको बुझाइ छ।

स्थानीय तहको संरचना बनेपछि नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा वडा कार्यालयले सेवा प्रवाह गर्दै आएको छ। सीमित स्रोतसाधनका बाबजुद नागरिकको प्रत्यक्ष आवश्यकतालाई पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न सके त्यसको प्रभाव स्थानीयस्तरमै देखिने अग्लुङ्गको उदाहरणले देखाएको छ।

स्थानीय आवश्यकतामा आधारित कार्यक्रम

अग्लुङ्गमा सञ्चालन गरिएको निःशुल्क एम्बुलेन्स सेवा कुनै ठूलो पूर्वाधार निर्माणभन्दा पनि नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको कार्यक्रम हो। विशेषगरी प्रसूति सेवाजस्तो संवेदनशील विषयमा समयमै अस्पताल पुग्न सक्ने अवस्था सिर्जना गर्नुले स्वास्थ्य जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

तीन वर्षमा ९८ जना सुत्केरी महिलाले सेवा लिनुले पनि कार्यक्रमको आवश्यकता र प्रभावकारिता देखाएको छ। सेवा सुरु भएपछि नागरिकमा स्वास्थ्य संस्थामा जाने र सुरक्षित प्रसूतिको अभ्यासप्रति थप विश्वास बढेको वडा कार्यालयको बुझाइ छ।

स्वास्थ्य सेवासँगै शिक्षा, सडक, खानेपानी र विद्यालयका पूर्वाधारमा गरिएको लगानीले अग्लुङ्गको विकासको दायरा फराकिलो बनाएको छ। नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्दै दीर्घकालीन विकासका आधार तयार पार्ने प्रयास भइरहेको वडा कार्यालयको भनाइ छ।

स्थानीय तहमा विकासको चर्चा गर्दा ठूला भवन, सडक वा अन्य भौतिक संरचनालाई मात्र उपलब्धिका रूपमा हेर्ने गरिन्छ। तर नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको स्वास्थ्य सेवा, सुरक्षित प्रसूति, शिक्षा र आधारभूत पूर्वाधारलाई एउटै प्राथमिकतामा राखेर काम गर्नु पनि स्थानीय सरकारको प्रभावकारी अभ्यास मानिन्छ।

मदाने गाउँपालिका–१ अग्लुङ्गले तीन वर्षदेखि सञ्चालन गर्दै आएको निःशुल्क एम्बुलेन्स सेवा त्यसैको एउटा उदाहरण बनेको छ। स्वास्थ्य सेवामा पहुँच विस्तारसँगै शिक्षा, सडक, खानेपानी र पूर्वाधार विकासका कामलाई अघि बढाउँदै लगिएको अवस्थामा अग्लुङ्गको यो अभ्यास अन्य ग्रामीण स्थानीय तहका लागि समेत सिकाइ बन्न सक्ने देखिन्छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया