गुल्मी । जिल्लाको शैक्षिक इतिहासमा मदाने गाउँपालिकाले सुनौलो अक्षरले नाम कोर्न सफल भएको छ। हालै सार्वजनिक भएको SEE परीक्षा नतिजा अनुसार मदाने गाउँपालिका जिल्लामा प्रथम बन्न सफल भएको छ ।
यो सफलतासँगै मदाने गाउँपालिकाको शिक्षा क्षेत्रमा गरिएको लगानी, शिक्षकहरूको मेहनत र विद्यार्थीहरूको लगनशीलताको अहिले चौतर्फी प्रशंसा भइरहेको छ।
यो नतिजाले प्रमाणित गरिदिएको छ कि— भौगोलिक विकटताले सफलतालाई रोक्दैन, यदि इच्छाशक्ति र सही व्यवस्थापन छ भने।
मदाने गाउँपालिकामा जम्मा ८ वटा माध्यमिक बिधालय रहेका छन । कुल ३१४ विद्यार्थी मध्ये २७४ जना उत्तीर्ण भएका छन् ।
गाउँपालिकाको कुल उत्तीर्ण प्रतिशत ८७.२६% रहेको छ, जुन जिल्लाकै सबैभन्दा उच्च रहेको गाउँ पालिकाका सुचना अधिकारी सुशील पोख्रेलले जानकारी दिए ।
जिल्लाका शीर्ष तीन पालिकाहरू:
१. मदाने गाउँपालिका: ८७.२६% (जिल्ला प्रथम)
२. धुर्कोट गाउँपालिका: ८३.१२% (जिल्ला द्वितीय)
३. चन्द्रकोट गाउँपालिका: ८३.०१% (जिल्ला तृतीय)
“शिक्षा नै समृद्धि हो, उत्कृष्ट नतिजा हाम्रो प्रतिबद्धता हो” भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाले शैक्षिक सुधारमा गरेको लगानी र शिक्षक, विद्यार्थी एवं अभिभावकहरूको अथक मेहनतका कारण यो नतिजा सम्भव भएको बताइएको छ। जिल्ला सान्त्वना स्थानमा रेसुङ्गा नगरपालिका (७९.८३%) रहेको छ भने अन्य पालिकाहरूको नतिजा तुलनात्मक रूपमा न्यून देखिएको छ। मदाने गाउँपालिकाको यो ऐतिहासिक सफलताले जिल्लाको शैक्षिक स्तरलाई थप उचाइमा पुर्याउने विश्वास लिइएको सुशील पोख्रेलले बताए ।









