रेसुंगाको खानीगाउँ वडा कार्यालयद्वारा ज्येष्ठ नागरिक सम्मान



अनिल खत्री


गुल्मी । रेसुङ्गा नगरपालिका-८ खानिगाउँ वडा कार्यालयले ७५ वर्षमाथिका ज्येष्ठ तथा अशक्त नागरिकलाई सम्मान गर्दै उपयोगी सामग्री वितरण गरेको छ।

“ज्येष्ठ तथा अशक्त नागरिक सम्मान कार्यक्रम–२०८३” अन्तर्गत वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा वडाभित्रका ४० जना ज्येष्ठ तथा अशक्त नागरिकलाई सम्मानसहित इलेक्ट्रिक कित्ली (विद्युतीय कित्ली) र टेक्ने लौरो वितरण गरिएको हो।
समाजका मार्गदर्शक तथा सम्मानित व्यक्तित्वका रूपमा रहेका ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति एक–एक थान इलेक्ट्रिक कित्ली र लौरो प्रदान गर्नुका साथै खादा तथा अबिर लगाएर सम्मान गरिएको थियो। चिसो तथा सामान्य समयमा समेत सहज रूपमा तातोपानी उमाल्न र पिउन सकून् भन्ने उद्देश्यले इलेक्ट्रिक कित्ली तथा हिँडडुलमा सहजता होस् भन्ने हेतुले लौरो वितरण गरिएको वडा कार्यालयले जनाएको छ।

वडा अध्यक्ष निरञ्जन थापाका अनुसार कार्यक्रमका लागि वडाले विनियोजन गरेको रु. ५० हजार बजेट खर्च गरिएको हो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि तथा ज्येष्ठ नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सम्मान र उपयोगी सामग्री प्राप्त गरेपछि ज्येष्ठ नागरिकहरू खुसी देखिएका थिए। स्थानीय ज्येष्ठ नागरिक रुद्र भुजेलले स्थानीय सरकार नागरिकको सुख–दुःखको साथी बन्नुपर्ने उल्लेख गर्दै यस्ता सेवामूलक तथा परोपकारी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
रेसुङ्गा नगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर बिकले पनि समाजका लागि वडा कार्यालयले विगतदेखि नै यस्ता सकारात्मक कार्य गर्दै आएको भन्दै धन्यवाद व्यक्त गरे।
९६ वर्षीय स्थानीय हिरामणि सापकोटा प्रमुख अतिथि रहेको कार्यक्रम वडा अध्यक्ष निरञ्जन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। वडा सदस्य कृष्णप्रसाद भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वडा सचिव रेखा अर्यालले गरेकी थिइन्।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले आफ्नो पाँचवर्षीय कार्यकाल समाप्त हुन लागेको उल्लेख गर्दै यस अवधिमा सकेसम्म जनमुखी र उदाहरणीय काम गर्ने प्रयास गरेको बताए। उनले आगामी नेतृत्वले पनि यस्ता सामाजिक तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया