गुल्मी । गुल्मी जिल्लामा उद्योग व्यवसाय दर्ता घटदै गएको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क हेर्दा जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द हुनेको संख्या बढ्दै गएको छ । जसले गर्दा राजस्व संकलनमा पनि कमी आएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष ०८०/०८१ समा उत्पादन मूलक ९ वटा, कृषि तथा वन्यजन्य ५० वटा, पर्यटन मुलक ६५, सेवा मुलक ३८ वटा गरि कुल १५९ वटा उद्योग बन्द भएका छन् । त्यस्तै वाणिज्य तर्फ प्राइभेट फर्म १८७ बन्द भएका छन् । यो अवधीमा उद्योग दर्ता ७३ वटा र २९५ वटा नवीकरण भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका सूचना अधिकारी जीवन घिमिरे बताउनुभयो ।।वाणिज्य तर्फ ६३ वटा दर्ता र ४२९ वटा नवीकरण भएका छन् । यस अवधीको आर्थिक वर्षमा २४ लाख ७६ हजार ५ रुपैयाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष ०७९/०८० मा साना उद्योग तर्फ १३२ वटा बन्द भएका छन् । यो अवधीमा वाणिज्य तर्फ १८४ वटा बन्द भएका छन् ।
यस आर्थिक वर्षमा उद्योग दर्ता ११३ वटा र २२६ वटा नवीकरण भएका छन् । वाणिज्य तर्फ ९२ वटा दर्ता र ३६९ वटा नवीकरण भएका छन् । यस अवधीको आर्थिक वर्षमा २३ लाख ८४ हजार ५७५ रुपैयाँ राजस्व संकलन भएको घिमिरेले बताउनुभयो । त्यस्तै ०७८/०७९ मा १६२ वटा साना उद्योग बन्द भएका छन् ।
यो अवधीमा २३७ वटा वाणिज्य तर्फका व्यवसाय बन्द भएका छन् । यो अवधीमा उद्योग दर्ता ३१२ वटा र ३३१ वटा नवीकरण भएका छन् ।
वाणिज्य तर्फ २४२ वटा दर्ता र ३१३ वटा नवीकरण भएका छन् । यस अवधीको आर्थिक वर्षमा ४१ लाख ७९ हजार ५७० रुपैयाँ राजस्व संकलन भएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले जनाएको छ । पाँच लाख सम्मको पूँजी भएका व्यवसाय स्थानीय तहमै हुने भएपछि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता हुनेको संख्यामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मी खरिदार त्रिबिक्रम ज्ञवालीले बताउनुभयो । लगानी अनुसार प्रतिफल नभएको भन्दै व्यवसाय बन्द गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।