गुल्मी । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीले जिल्लाका जोखिमपूर्ण दलित बस्ती स्थान्तरणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । गुल्मीका अधिकांश दलित बस्ती पहिरोको जोखिममा छन् ।
जसका कारण ठूलो मानवीय तथा भौतिक क्षति दलित परिवारले बर्षौदेखि भोगिरहेको छ । डेढ महिनाकै अन्तरालमा पहिरोका कारण नौ जनाको मृत्यु र दुई जना घाइते दलित परिवारबाटै भएकाले बस्ती स्थान्तरण र राहतको व्यावस्थापनको लागि जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको नेपाल उत्पीडित जातीय मुक्ति समाज लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण विश्वकर्माले जानकारी दिए । पहिरोले १४ असारमा मालिका गाउँपालिका ६ अर्जेका भेष बहादुर विकको पाँच जनाको परिवार र २२ साउनमा मुसिकोट नगरपालिका १ विसौनामा दुई परिवारका चार जनाको ज्यान गएको छ । पहिरोमा सख्त घाइते दुई जनाको उपचार भइरहेको छ । जोखिमपूर्ण वस्तीहरुमा मानवीय रक्षा तथा सम्पत्तिको सुरक्षा गर्न राज्यका विभिन्न निकायलाई पाँच बुँदे ध्यानाकर्षण समाजले गराएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीका अध्यक्ष दिपक बरालसहित संगठन र पार्टीका नेताहरुले बुझाएको ज्ञापनपत्रमा दलित समुदाय लगायत अन्य समुदायको बसोवास गर्ने जोखिमपूर्ण वस्तीहरुको नक्सांकन गरी वस्तीको स्थानान्तरण गरी पुर्नवासको व्यवस्था गर्न, ज्यान गुमाएका परिवारमा शिक्षा, स्वास्थय, रोजगारीको ग्यारेण्टी गर्न, संभावित प्राकृतिक विपत्तिवारे जोखिमपूर्ण वस्तीमा सचेचनामूलक कार्यक्रमहरु संचालन गर्न, बाढी पहिरोवाट प्रभावित क्षेत्रमा समयमै राहत र उद्धार कार्य गर्ने व्यवस्था गर्न र बाढी पहिरोवाट घाइते हुनु भएका घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गर्र्नुपर्ने उल्लेख छ ।
प्रमुख जिल्ला अधिकारी शर्माले ज्ञापनपत्र तत्काल प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने र जिल्लाको विपद् व्यावस्थापन समितिको बैठकमा छलफल गरेर उचित निर्णय गर्ने बताए ।