गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले गाउँसभाकाे १५ औं अधिवेशनमा शनिबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बिशेष प्राथमिकता दिइएको छ । जसअनुसार सामुहिक कृषि प्रणालीलाई प्रोत्साहनको लागि अनुदान, कृषि तथा पशु बिमामा अनुदान, उत्कृष्ट कृषक तथा कृषि समुह पहिचान गरी सम्मान। कालीगण्डकी कृषि तथा पशु उद्यम परियोजनालाई निरन्तरता, कृषि उपजहरुको लागि संकलन केन्द्र स्थापना र एक एक वटा बहुउदेश्यीय नर्सरी स्थापना गरी वृक्षारोपण लगायतका कार्यक्रमहरु ल्याएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा कालीगण्डकी गाउँपालिकाले बाँझो जमिनलाई आफ्नो स्वामित्मा लिई उपयुक्त कृषि कार्यक्रम संचालन गर्ने कार्यक्रम समेटिएको छ । बाँझै रहेको जग्गा खनजोत गरी प्रयोगमा ल्याउने कृषकलाई अनुदान रकम उपलब्ध गराउने, कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि प्रविधि तथा मेसिनरी औजार सामाग्री सहयोग, सुन्तला पकेट क्षेत्र कार्यक्रम विस्तार, स्थानीय रायो, मुला फर्सी र बाँकीबाट गुन्द्रक बनाई त्यसलाई ब्राण्डिङ, सुन्तलाजातबाट जाम जुस र जेली तथा सौन्दर्यका सामाग्रीहरु बनाउने कार्यक्रम संचालन गरिने नीति ल्याएको कालीगण्डकी गाउँपालिकाका प्रमुख अधिकृत नरेश गिरीले जानकारी दिए । साथै गाउँपालिकाले स्थानीय मदिरालाई ब्राण्डीङ, कालिगण्डकी करिडोरको कालिगण्डकी खण्डमा खुला कालिगण्डकी म्याराथुनकाे आयाेजना, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, विषयगत शिक्षक तथा विद्यालयलाई पुरस्कृत, विद्यार्थी, अभिभावक, विद्यालय, शिक्षक र गाउँपालिकाको निरन्तर संवाद र सहकार्य गर्नको लागि एकीकृत डिजिटल प्रणालीको विकास, गाउँपालिका स्तरीय खेलकुद परिषद गठन, गर्भवती महिलालाई निशुल्क र अन्य विरामीलाई सहुलियत दरमा एम्बुलेन्स सेवा, गर्भवती तथा सुत्केरी महिला संग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता, छोरी जन्मदा सहयोग कार्यक्रम लाई निरन्तरता र एक घर एक धारा कार्यक्रम सम्पन्न लगायतका कार्यक्रमहरु आगामी आर्थिक वर्षका लागि कालीगण्डकी गाउँपालिकाले प्रस्तुत गरेको छ ।
तपाईंको प्रतिक्रिया
-
Mahatara Live Gulmi का संचालक तथा सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य