गुल्मी । गुल्मीको चन्द्रकाेटमा चन्द्रकाेट गाउँपालिका, कालीगण्डकी गाउँपालिका र बागलुङको बरेङ गाउँपालिकाका स्थानीयलाई लक्षित गर्दै झाेलुङ्गे पुलको शिलान्यास गरिएको छ । चन्द्रकाेट र कालीगण्डकी जाेड्दै बाग्लुङको बरेङसहितका एक सय ७५ घरधुरीलाई टेवा पुग्ने उक्त झाेलुङ्गे पुलको आइतबार चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले शिलान्यास गर्नुभएको हो ।
चन्द्रकोट गाउँपालिका वडा नम्बर ५ ग्वाघामा रहेको स्थानीय छरछरे खोलामा बन्ने उक्त पुल ७६ मिटर लामो हुनेछ । कुल ४२ लाख ४३ हजार लागतमा निर्माण हुन लागेको उक्त झोलुङ्गे पुल २०८१ असार १७ गतेभित्र सम्पन्न हुनेछ ।
पुलकाे शिलान्यास गर्दै चन्द्रकाेट गाउँपालिका अध्यक्ष युवराज केसीले विकटलाई निकट बनाउने अभियान जारी रहेको बताउनुभयो । उहाँले समयमै गुणस्तरीय कार्य सम्पन्न गर्न र गराउन सवै सरोकारवालाहरुलाई आग्रह समेत गर्नुभएकाे छ ।
यस्तै गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले झोलुङ्गे पुलको निर्माण सम्पन्न पछि स्थानीयलाई राहात हुने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज भुसाल, वडाध्यक्ष तथा जनप्रतिनिधिहरू, झोलुङ्गेपुल निर्माण उपभोक्ता समितिका पदाधिकारी, स्थानीय उपभोक्ताहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
साेही क्रममा ग्वाघा माध्यमिक विद्यालयमा निर्माणाधीन चार कोठे भवनको अनुगमनको समेत गरिएको छ ।