टोपलाल अर्याल, गुल्मी । गुल्मीबाट खटिएका एमालेका युवा स्वयसेवकहरुले पालबाट टहरामा सारेपछि प्रेम बहादुर पुनले आँखाबाट आँसु झारे । भुकम्पबाट छोराबुहारी र नातिनातिना गरेर चार जनासहित घरगोठ गुमाउँदा त कति रोए सिमा रहेन ।
जिल्ला बाहिरबाट आएका स्वयसेवकले बनाएर सानो ओत दिँदा पनि प्रेम बहादुरको मन भरियो । पुन परिवार अझै पीडाले मुर्छित छन् । कैयौ दिन खाद्यान्य र लत्ताकपडा भत्किएका घरभित्रबाट पुरिए । आफन्तनै गुमेपछि सम्पती निकाल्ने हिम्मत आएन् । ‘गुमेका सन्तानको पीडा र भुकम्पको त्रासले ननिदाएर कैयौँ रात बिते । ढलेका छोराबुहारी र नातिनातिनासंगै घरको आश त भएन,’उनले भने,‘पुरिएको सम्पतीको समेत पाउँला भन्ने भएन ।’ रुकुम पश्चिको सानीभेरी गाउँपालिका–१ चाइनाबगर भुकम्पको सवैभन्दा प्रभावित ठाउँ हो ।
१७ कार्तिकको भुकम्पले चाइनाबगरमा उठेका घरहरु कम छन् । ढलेका घर र गलेका बेचैन पीडितहरुलाई उद्धारमा खटिएका स्वयसेवकहरु बाहेक ढाडस दिने राज्य संयन्त्र छैन् । सशस्त्र द्वन्द्वको समयमा पदमकलाका श्रीमान अछाममा मारिए । त्यो बेला छोरा सुन्दर पेटमा थिए । देशको परिवर्तनको लागि घर छोडेका श्रीमान फर्किएनन् । पदमकलाले छोरा जन्माइन् । छोराले न बा देखे न परिवर्तन् । युद्धले आमा पदमकला र छोरा सुन्दरको भविष्य अन्यौल बनाएकै थियो ।
फेरि भुकम्पको चोट सुन्दर र पदमकलाको तकदिरमा बचारियो । भुकम्पबाट भागेर ज्यान त बचाए । तर, घरबास रहेन् । गुल्मेली एमाले युवा स्वयसेवकले सानो ओत बनाएर ठुलो भरोसा छाडे । ज्यालामजदुरी गरेर पुन परिवारले गुजरा चलाएको ।
रुकुममा द्वन्द्वको घाउमा भुकम्पले नुनचुक छर्केको छ । द्वन्द्वले फलिफाप भएकाहरु गाउँ छैनन् । युद्धमा आदेश दिनेहरुहरुका शहरमा महल छन् । आज आदेशले ढल्नेहरुका आफन्त पनि ढले घरबास पनि ढल्यो । चाइनाबगरकै १०१ बर्षका गोरे र ९३ बर्षीया पवि पुन भुकम्पले पनि द्वन्द्वमा छोरा गुमाए । अरु दुई छोरा पनि कर्ममा रहेनन् । भुकम्पले बुढेशकालमा बेशाहारा बनायो । गुल्मीका स्वयसेवक पुन दम्पतीकोमा पुगे ।
उनीहरु आफै पनि दरिलो गरेर अडिन सक्दैनन् । पालको कन्तबिजोक जीवनबाट मुक्तिका लागि टोलीले काम थाल्यो । पीडाले हतास । चाइनाबगरको चिसो बतास । घामले जमिन छोप्दा पनि पीडाले मन न्यानो थिएन । पविले द्वन्द्वमा छोरा ढलेको कथा सुनाउँदै भक्कानिन् । भुकम्प गएको रातदेखि करिव २० दिन पालको ओतमा बसे । पुन दम्पतीले आयु भाग्यमानी भएपनि जीवन जीवन जस्तो कहिल्यै भएन ।
हरि बहादुर पुन र रश्मी पुनको अवस्था पनि बिजोकनै थियो । पालको ओतमा कष्टले ज्यान जोगाएकाहरुसंग बाँच्नु बाहेकको आशा थिएन । रश्मी आफै भुकम्पमा परेर घाइते थिइन् । दैब फेरि फर्किएलाकी भन्ने भयकाबिच भत्किएको घरबाट केहि निकाल्ने आँट थिएन् । पालमा भएकैले कयौँ दिन थाल ज्यान पाले । हरि र रश्मीका छोरा पनि द्वन्द्वमा मारिएका थिए ।
गुल्मीबाट खटिएका युवा स्वयसेवकहरुले पुनको परिवारलाई पालबाट टहरोमा सारेका छन् । शेर बहादुर पुन र निर्मला पुनको मानवीय क्षति भएन । तर, ढलेका घरहरुसंगै खाने र ओढ्नेओछ्याउने पुरिए । दुई साता बारीमा पालको ओतसंग चिसो रात कटाए । ‘कैयौँ दिन भोक टार्ने र चिसो छेक्ने उपाय भएन् । घर ढल्यो अन्न र कपडा पुरिए,’निर्मला पुनले भनिन,‘सरकारले पालबाहेक केहि दिएको छैन् ।’
राष्ट्रपति, प्रधानमन्त्री र नेताहरु भुकम्प प्रभावित क्षेत्रमा पुगेर गफ गरे जस्तो काम गाउँमा काम देखिएन । अहिलेसम्म गाउँमा सरकारले घटना मुचुल्का गरेर सकेको छैन् । भुकम्प पीडित बालबालिका, बृद्धा र सुत्केरी चिसोले बिरामी पर्न थालेका छन् । तर, सरकारका संयन्त्र अलमलमै देखिएको स्थानीय समाजसेबी कृष्ण बहादुर पुनले गुनासो गरे । उनले गाउँमा अहिलेसम्म गुल्मी एमालेका युवाहरु बाहेक पुर्नस्थापनाको लागि सहयोग गर्न कोहि नआएको बताए । ‘गुल्मीको स्वयसेवक टोली पहिलो पटक आएर भग्नावशेष हटाउने र टहरा निर्माणमा ठुलो सहयोग गरिरहेको छ,’उनले भने,‘अझै मुचुल्का नसक्ने राज्यसंग जनताको के आश ।’ स्थानीयलाई अहिले भुकम्प र चिसोको मात्रै डर छैन् ।
बर्षात शुरु भएपछि तल भेरी नदिले तान्ने र माथिबाट भुकम्पले चर्किएका पहाड खस्ने चिन्ता उस्तै छ । १७ कार्तिकमा रुकुमपश्चिम र जाजरकोटमा भुकम्प गएपछि नेकपा एमालेले देशभरबाट स्वयसेवक घटनास्थल खटाउने निर्णय ग¥यो । गुल्मीबाट जिल्ला अध्यक्ष बालसिंह काउछाको नेतृत्वमा १५ जनाको टोली ६ मंसिरमा रुकुम पश्चिम पुगेका थिए । टोलीले १५ दिन भग्नावशेष हटाउने, टहरा निर्माण गर्ने र पीडितलाई मनोसामाजिक परामर्श दिने काम गर्नेछ ।
टोलीको नेतृत्व गरिरहेका अनेरास्वावियु लुम्बिनी प्रदेशका सह–सचिव शोभाखर गिरीले आफुहरु पुग्दा रुकुम पश्चिमको चाइनाबगर आँसु डुवेको बताए । ‘तल भेरी नदि माथि भुकम्पले फाटेका पहाड । चाइना बगरमा उठेका घर देखिदैन्थे,’उनले भने,‘सवैको आँखामा आँसु देख्यौ सरकारको तर्फबाट शव निकाल्ने बाहेकका केहि काम भएको रहेन्छ ।’ अहिले पनि अधिकांश पीडित बाहिर पालमा र राहतको लागि चिट्टा थुत्ने अवस्था रहेको गिरीले बताए ।
उनले आफुहरुले द्धन्द्धबाट कोहि न कोहि परिवारका सदस्य गुमाएका परिवारलाई भुकम्पले दिएको चोट निकै पीडादायी रहेको बताए । सहसचिव गिरीका अनुसार टोलीले अहिलेसम्म गोरे पुन, प्रेम पुन, पदमकला पुन, शेर बहादुर पुन, निर्मला पुन र पल्लबी पुन लगायतका २० परिवारको अस्थायी आवास निर्माण तथा भग्नावशेष हटाउने काम गरिरहेको बताए ।
त्यस्तै भुकम्पले क्षतिग्रस्त भेरीदोभान माविका बिद्यार्थीको लागि आठ वटा टहरा निर्माण गरेर बिद्यार्थीहरुलाई राख्न सफल भएको गिरीले बताए । एमाले गुल्मीले ०७२ को भुकम्प, गुल्मी वडागाउँ दजाकोटको आगलागी र सत्यवति पहिरो लगायतका बिपद्मा अस्थायी आवास निर्माण, राहत वितरण लगायतका काममा ठुलो सहयोग गरेको नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव गणेश श्रीपालीले जानकारी दिए । टोली रुकुममा १५ दिन काम गरेर १९ मंसिरमा फर्किने छ । रुकुमको चाइनाबगर पुगेर एक दिन काम समेत गरेर फर्किएका पार्टी अध्यक्ष बालसिंह काउछा स्वयमसेवक लिन पुन रुकुम जाने सचिव श्रीपालीले जानकारी दिए ।