गुल्मी । गुल्मीमा १६ दिनदेखि हराइरहेका ३२ वर्षीय युवा मृत फेला परेका छन् । गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ का डिल्ली अर्याल बिहिबार साँझ मृत फेला परेका हुन् ।
स्थानीय सिम्ले भन्ने स्थानको एक खोलामा बिहिबार साँझ शव फेला परेको र शुक्रबार बिहान पहिचान भएको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक कुशल सिंह ठकुरीले जानकारी दिए । गत साउन ९ गते घरबाट हराइरहेका मदाने गाउँपालिका वडा नम्बर ३ सिर्सेनीको पोखराका युवाको शव भन्ने पहिचान भएको प्रहरी निरिक्षक ठकुरीले बताए ।
प्रहरीका अनुसार, अर्याल हराएको निवेदन प्रहरीकोमा आएपछि खोजी कार्य तिव्र पारिएको थियो । बिहिबार साँझ शव भेटिएको स्थानीयले जानकारी दिएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । हराइरहेका पुरुषको शव भन्ने संका गरिएपनि पहिचान भने हुन सकेको थिएन । शुक्रबार बिहान स्थानीय, सरोकारवाला र प्रहरीले पहिचान गर्दा उनको परिचय खुलेको इलाका प्रहरी कार्यालय पुर्कोट दहले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले शव फेला परेपछि प्रहरी खटिएको जानकारी गराएका थिए । भेटिनसाथ पहिचान हुन नसकेपनि हराइरहेका अर्यालको शव भन्ने पुष्टि शुक्रबार बिहान भइसकेको उनले जानकारी दिए ।
मृतक अर्यालको मानसिक सन्तुलन असमान्य रहेको भन्ने बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।