पश्चिमी असर, बदलिँदो खानाको परिकार र आयातमा प्रभाव



Live Gulmi


विद्यार्थी जीवन अघि बढेसँगै घरको खानाबाट दुरी पनि बढ्दै गएको थियो । यस्तै दिउँसोको खाजा के खाने भन्ने कुरामा पनि धेरै परिकारहरु दिमागमा आइरहेको थियो । लागेको बानी र अरु विभिन्न कारणले गर्दा सधै बाहिरकाे खाना खाने बानी बसिसकेको छ ।

शहरमा बस्ने मात्र होइन गाउँमा बस्ने हरेक उमेर समूहका नेपालीहरु बीच यो सामान्य बन्दै गएको छ । हामीलाई घर मा बनेको खान्कीको भन्दा बाहिर बनेको खानेकुराको स्वाद नै प्यारो लाग्छ जसले गर्दा सपरिवार रेष्टुरेन्टमा गएर खाना खाने चलन बढ्दो छ । कृषि प्रधान देश भनिएता पनि उत्साहजनक उत्पादन नहुँदा र उत्पादन भएकाको बजार सुनिश्चित नहुँदा कृषिको आयात विगतभन्दा ३० प्रतिशतले बढेको छ ।

Jeewan and Rajan Tailors

हामीले खाने तेल, सोयाबिन तरकारी, फलफूल, मसला जस्ता दैनिक उपयोग हुने वस्तुको आयात बढ्दो छ । हुनपनि देशमा विगत १० वर्षयता खाद्यान्न बालीसमेत आयात हुने कुराले नै हाम्रो कृषि स्तर कहाँ छ भन्ने कुरा प्रष्ट हुन्छ । १० वर्षको अन्तरमा हाम्रो आयात ८ गुणाले बढेको एक अध्ययनले देखाउँछ । तर आजको बिषय यो भन्दा पनि अलि बेग्लै छ , समय अनुसार हाम्रो खानपानमा पर्न गएको परिवर्तन र यसले अर्थतन्त्रमा पार्ने प्रभावको बारेमा के कुरा तल उल्लेखित छ ।

रोजगार र शिक्षाको शिलशिलामा नेपालीहरु विदेशिने क्रम बढ्दै गएपछि बाहिरी संस्कृतिको पनि आगमन भयो जसले गर्दा केक र अरु बेक्री परिकार प्रचलित हुँदै गयो । नेपाली बजारबाट नेपालको पारम्परिक स्वस्थ खाना लोप हुँदै गएको अवस्था छ। नेपालीको रोजाइमा चाउचाउ, चकलेट, कुरकुरे, आदिजस्ता परिकार पर्न गएको छ। अध्ययन अनुसार सन् २०२१ मा २.२ अर्बको चकलेट मात्र आयातित भएछ । नेपाली युवामाझ खानेकुरामा हुनुपर्ने पोष्टिक गुणमा भन्दापनि हेर्दा सुन्दर र चम्किलो बनोस् ताकी snapchat वा इन्स्टाग्राममा सबैका लागि आकर्षक देखियोस् ।

नेपालमा समुद्री खानाको बजार पनि निकै प्रशस्त रहेको देखिन्छ । बजारमा प्रसस्त मात्रामा prawns, अक्टोपस र shrimp भित्रिएको छ । आजभोली नेपाली माझ उत्तिकै लोकप्रिय बन्दै गएको पिजा, बर्गर, पास्तामा प्रयोग गरिने चिज आर्थिक वर्ष २०२०/२१ मा ३१ करोड भन्दा बढी आयात गरिएको छ। हामी ६२ करोड भन्दा बढीको त चुईगम चपाउँछौँ । नेपाली बच्चाहरुकाे अति प्रिय कुरकुरे, लेज, चिजबल आदि परिकार पनि झन्डै आधा अर्ब बराबरको आयात हुन्छ। हुँदाहुँदा घरको आलु कुहाएर करोडौंको फ्रेन्च फ्राइ मगाउने हामी नेपालीको त बयान गरेर साध्य छैन। बजारको सिजन अनुसारको फलफूल महंगो लाग्ने हामीलाई विभिन्न रसायनयुक्त जुस साह्रै स्वस्थ लाग्छ। त्यही जुस आयात गर्न लाग्ने रकम हेर्ने हो भने एक चक्कर लागेर आउछ।

सायद म आफैं पनि बिदेशी खानाको मोह जाल भित्रै छु । तर, पनि यो जुन हिसाबले बढिरहेको छ यसले निकट भविष्यमा एकदम नराम्रो असर पार्नेछ । हाम्रो अर्थतन्त्रमा मात्र नभएर हाम्रो स्वास्थ्यमा पनि झन् भयानक असर पार्दै गइरहेको छ । हामीले अब यथासक्य यसको नकारात्मक असर बुझेर यसलाई परित्याग गर्नुपर्ने देखिन्छ। हाम्रै मौलिक खानाको महत्त्व बुझेर, अझै सुदृढ गरेर आत्मसाथ गर्नाले हाम्रो स्वास्थ्य र अर्थतन्त्र दुवैको भलो हुन्छ ।

✍️  साधना रिजाल, गुल्मी 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया