गुल्मी । गुल्मीमा राेटरी क्लब अफ रेसुङ्गा गुल्मीद्वारा संचालन भएको बृहत् नि:शुल्क स्वास्थ्य शिविरमा कुल पाँच सय बढीले सेवा लिएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यमिक विद्यालयमा शनिबार राेटरी क्लब अफ रेसुङ्गा गुल्मीको आयोजना, रेसुङ्गा नगरपालिका, इस्मा, गुल्मीदरबार, धुर्काेट, मालिका गाउँपालिका गुल्मी, छत्रदेव गाउँपालिका अर्घाखाँची, हृदयराेग प्रतिष्ठान गुल्मीकाे सह-आयोजना तथा गाैतमबुद्ध सामुदायिक मुटु हस्पिटल बुटवलको प्राविधिक सहयोगमा मुुटु, सुगर र ब्लड प्रेसर सम्बन्धी बृहत् नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो ।
गुल्मीमा मुटु सम्बन्धी राेगकाे उपचार नहुने र यससम्बन्धी बिशेषज्ञ डाक्टर नभएको कारणले सबै गुल्मेलीलाई लक्षित गरी सदरमुकाम तम्घासमा बृहत् नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिएको राेटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । यस राेग सम्बन्धीकाे उपचारका लागि पाल्पा, बुटवल र काठमाडौं धाउनुपर्ने बाध्यताकाे अन्त्य, समयमै राेगहरूकाे पहिचान गरी उपचार गर्न र पैसाको अभावमा राेग लुकाएर बस्नुपर्ने बाध्यताकाे अन्त्यका लागि शिविर आयोजना गरिएको आयोजक संस्था क्लबका अध्यक्ष श्रेष्ठले बताए । ‘मुटु सम्बन्धी राेगकाे उपचार गुल्मीमा सहज छैन्’, अध्यक्ष श्रेष्ठले भने, “यस सम्बन्धीकाे उपचार गुल्मीमा पनि हुनुपर्छ भन्ने सन्देशसहित शिविर चलाएका हौं ।” उनले गाैतमबुद्ध सामुदायिक मुटु हस्पिटललाई गुल्मीमा सहकार्य गरेर बिशेषज्ञ सेवा दिलाउन आग्रह पनि गरेका थिए ।
शनिबार सबेरैदेखि साँझ अबेरसम्म संचालन भएको स्वास्थ्य शिविरमा जम्मा पाँच सय ३२ जनाले सेवा लिएका छन् । जसमध्ये मुटु सम्बन्धी इकाे दुई सय ९६ जना, इसिजी दुई सय चार जना र ल्याब परीक्षण एक सय ९६ जनाकाे गरिएको छ । त्यस्तै पाँच सय ३२ जनाकै ब्लड प्रेस सम्बन्धी जाँच गरिएको छ । सबै बिरामीलाई औसधि नि:शुल्क वितरण गरिएको छ । शिविरमा इको, इसिजी तथा अन्य आवश्यक ल्याब परीक्षण पनि निःशुल्क गरिएको थियाे । शिविरमा नविल बैंक गुल्मी, एन.एम.बी. बैंक गुल्मी, नेपाल बैंक लिमिटेड, नेपाल एस.बि.आई. बैंक लिमिटेड र एन.आई.एम.बी. बैंकले सहयोग गरेका छन् । शिविर स्वस्थ मुटु हाम्रो अभियान भन्ने मूल नारा सहित शिविर संचालन गरिएको हो शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विशाल केसी, डा. अभिषेक शाक्य, डा. जितप्रसाद घिमिरे र जनरल फिजिसियन डा. मिलन पोख्रेलसहित बिशेषज्ञ डाक्टरसहित ५७ जनाकाे समूह उपचारमा खटिएका थिए । गुल्मी जिल्लामा यति धेरै बिशेषज्ञ डाक्टर लिएर गरिएको नि:शुल्क स्वास्थ्य शिविर पहिलो भएको तर निरन्तरको झरीले चाहेजस्तो गुल्मेलीलाई सहभागी गराउन नसकेको राेटरी क्लब अफ रेसुङ्गा गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठले बताए ।
शिविर उद्घाटन गर्दै रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले स्वास्थ्य नै जीवनकाे मुख्य आधार भएकोले संवेदनशील स्वास्थ्य क्षेत्रमा राेटरी क्लब अफ रेसुङ्गा गुल्मीकाे अभियान प्रशंसनीय भएको बताए । ‘जनताको स्वास्थ्य प्रति हामी संवेदनशील छौं’, नगरप्रमुख पन्थीले भने, “क्लब जस्तै संस्थाकाे यस्तै सहयोगले समुन्नतिमा आधार तय हुन्छन् ।” उनलेे बिशेषज्ञ डाक्टरकाे ठुलाे समूह लिएर यसरी स्वास्थ्य शिविर गरेकोमा क्लब परिवारप्रति धन्यवाद व्यक्त गरे । राेटरी क्लब अफ रेसुङ्गा गुल्मी विगत ३ वर्षदेखि क्रियाशील रहेको छ । यसले विशुद्ध सामाजिक सेवामा काम गर्छ । आफ्नाे जिल्लामै नि:शुल्क मुटु राेग सम्बन्धी परीक्षण गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।