गुल्मी । गुल्मीमा मगर दिवसकाे अवसरमा सडकमै खाना महोत्सव गरिएको छ । जिल्लाकाे सदरमुकाम तम्घासस्थित चिदिचाैरमा काेब्रा युवा समूह रेसुङ्गा नगरपालिका वडा नम्बर ८ र नेपाल महिला मगर संघकाे संयुक्त आयोजना तथा रेसुङ्गा नगरपालिका गुल्मीको प्रमुख प्रायाेजनमा सडक खाना महाेत्सव तथा विविध साँस्कृतिक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल मगर महिला संघ गुल्मी र मगर विद्यार्थी संघले पनि सहजीकरण गरेका थिए । ‘मगरात सभ्यताको दस्ताबेजिकरण गर्दै लेखन सांस्कृतिको संग्राहलय बनाऔं’ भन्ने मुल मन्त्र सहित मगर एकता दिवस मनाइएको हो । दिवसको अवसर पारेर वभिन्न साँस्कृतिक प्रस्तुति सहित तम्घास बजारमा र्याली समेत गरेका थिए । तम्घासको चिदिचौर परिसर सडकमा खाना महोत्सव पनि प्रर्दशन गरिएको हो । स्थानीय रैथाने खानाको स्वादहरूलाई आम जनतामा पस्कन तथा खाना पर्यटनलाई प्रवर्द्धन गर्नका लागि खाना महोत्सव आयोजना गरिएको आयाेजकले जनाएको छ । महोत्सवमा मगर जातिको विभिन्न खानाको परिकार प्रर्दशन गरिएको थियो ।
महोत्सवमा विभिन्न संस्कृति झल्कने भेषभुषासहित सांस्कृतिक बाजा, नाच, तथा झाँकीहरू प्रदर्शनी गरिएको थियोे । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको थियो । महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको संरक्षण गर्ने प्रमुख उदेश्य रहेको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष निरञ्जन थापाले बताए ।
जिल्ला सदरमुकाम तम्घासमा केही वर्ष यता मगर एकता दिवसको अवसरमा विभिन्न खाले कार्यक्रमहरु हुँदै आएका छन् । मगरहरु एकजुट हुनुका साथै मगर संस्कृति बारे जानकारी दिने उदेश्यले दिवस मनाउने गरेको स्थानीय मञ्जु दर्लामीले बताइन् । उनले मगर संस्कृतिसँगै खानपान लगायतका संस्कृति अहिलेका पीढीलाई थाहा नहुने हुनाले प्रर्दशनसँगै संरक्षण गर्नु आवश्यक रहेको बताइन् ।
दिवसको अवसर पारेर जिल्लाका ७ वटा स्थानीय सरकारले आज सार्वजनिक बिदा समेत दिएका छन् । जिल्लाको कालिगण्डकी, चन्द्रकोट, सत्यवती, छत्रकोट, मालिका, गुल्मीदरवार र रेसुङ्गा नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती पालिकाहरुमा मगर समुदायकाे बाहुल्यता रहेकाले कला, संस्कृतिको संरक्षणका निम्ति बिदा दिइएको गाउँपालिकाले जनाएका छन् ।