गुल्मी । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत गुल्मीमा एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ । एच.पि.भी. खोप अभियानको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले खोप सामाग्री स्वास्थ्य कर्मीलाई हस्तातरण गरेर शुभारम्भ गरिएको हो ।
जिल्लामा ११ हजार बढी किशोरीहरुलाई एचपिभी खोप लगाइने भएको छ । गुल्मी जिल्ला भरका ३९२ खोप केन्द्रमा आजदेखी फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियान मार्फत जिल्लाका १० देखी १४ वर्ष उमेर समूहका ११ हजार ४८८ जना किशोरीहरुलाई एचपिभी खोप लगाउने स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । खोप अभियानको सुरुवात कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले अभियान सफल पार्न सबैलाई आग्रह गरे । कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने ६ देखी १४ वर्ष उमेर समूहका ११ हजार ४८८ किशोरीहरुका लागि खोप लगाइने जानकारी गराएको हो ।
विद्यालय बाहिर रहेका उक्त समूहका २२४ किशोरीहरुका लागि खोप लगाइने स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले बताए । खोप सुरुवात कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले पाठेघरको मुखको क्यान्सर विरुद्धको लागि खोप लगाउने कार्य हुनु सुखद पक्ष रहेको बताइन् । उननले अहिले दैनिक पाठेघरको मुखको क्यान्सर कारणले धेरै महिलाहरु मृत्यु भइरहेको अवस्थामा यो खोप अभियानले ठूलो प्रभावकारीता राख्ने बताए । किशोरीहरुको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपिभी खोप लगाउन लागिएको हो ।
सरकारले यो वर्षदेखि एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरेको छ । आगामी वर्षदेखि कक्षा ६ देखि १० वर्षका किशोरीलाई हरेक वर्ष एचपिभी खोप दिने लक्ष्य लिएको छ । यौन जीवनको सुरुवात भइनसकेका उमेर समुहलाई खोप लगाउदा बढी प्रभावकारी हुने भएकाले ६ देखि १० वर्षको उमेर छनोट गरिएको हो ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले अभियानलाई जिल्लामा सबैले आफनो तर्फबाट सहयोग गरेर सफल बनाउन आग्रह गरे । यो खोप लक्षित समुहका सबै किशोरीहरुले अनिवार्य लगाउनुपर्ने भएकाले नछुट्न आग्रह गरे ।