गुल्मी । गुल्मीमा भाडाको बिषयमा झगडा भएपछि बसको ढाेकाबाट खस्दा एक यात्रुको मृत्यु भएको छ । जिल्लाकाे तम्घास-छल्दी-सिमलटारी सडकखण्ड अन्तर्गतको धनार्जीमा बुटवलदेखि तम्घास हुँदै अर्खबाङ्ग जाँदै गरेको लु १ ख ५७३६ नम्बरको बसमा सवार इस्मा गाउँपालिका वडा नम्बर ५ रातामाटाकी ३९ वर्षीया शान्ती कुमाल बस भाडाको बिषयमा झगडा भएपछि बसको ढाेकाबाट खस्दा घाइते उनको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।
प्रहरीका अनुसार, मृतक कुमाल बसबाट ओर्लिएपछि बस भाडा दिने क्रममा विवाद भएको थियो । सामान्य विवाद झैझगडाकै रुपमा जाँदा बस गुड्ने क्रममा उनी बसको ढाेकामा झुन्डिन पुगिन् । चलिरहेको बसको ढाेकामा झुन्डिँदा उनी सडकमा खसिन् । सडकमा खस्दा घाइते उनको उपचारका लागि गुल्मी अस्पताल तम्घासमा ल्याइएको थियो । गुल्मीका अस्पतालका डाक्टरले उनलाई मृत घाेषणा गरेका थिए ।