गुल्मीमा काँग्रेसको पालिका सम्मेलन सुरु, इस्मामा उत्साहजनक सहभागिताले भव्य बन्यो सम्मेलन



सन्तोष महतारा


गुल्मी । नेपाली काँग्रेस गुल्मीले पालिका तहमा सम्मेलन सुरु गरेको छ । शनिबार जिल्लाको इस्मा गाउँपालिकाबाट पालिका सम्मेलन सुरु गरेको हो ।

वडा तहका सम्मेलन सकेपछि पालिकाका सम्मेलन सुरु गरेको नेपाली काँग्रेस गुल्मीका सचिव भगत सिंह खड्काले जानकारी दिए । इस्मा गाउँपालिकाबाट सुरु भएको नेपाली काँग्रेस गुल्मीको पालिका सम्मेलन अब क्रमशः अन्य पालिकामा संचालन हुनेछ । इस्मा गाउँपालिकाका अध्यक्ष समेत रहेका खड्काले स्थानीय सरकार र पार्टी बीचको सम्बन्ध साथै पालिकाले हालसम्म गरेका मुख्य गतिविधिहरू बताएका थिए । उनले ऐतिहासिक इस्मा दरबार जीर्णाेद्धार, क्रिकेट मैदानसहित वी.पी. पार्क निर्माण, पशुपालक किसानलाई मासिक १० हजार प्राेत्साहन, स्वास्थ्य स्वयंसेविकालाई दाेब्बर सुविधा, सबै महिलाका लागि नि:शुल्क स्यानिटरी प्याडकाे व्यवस्था, पालिकामै दर्जनौं बिशेषज्ञ डाक्टरबाट बिरामीको उपचार, पालिकाका सेवा वडा तहमै पुगेर प्रदान र अन्य थुप्रै कामको बारेमा जानकारी गराएका थिए ।

Jeewan and Rajan Tailors

उत्साहजनक सहभागितामा भव्य रुपमा सम्पन्न नेपाली काँग्रेस इस्मा गाउँपालिकाकाे सम्मेलनमा पालिका सभापतिमा कृष्णप्रसाद रिजालले प्रतिवेदन पेश गरेका थिए । सम्मेलनमा नेपाली काँग्रेस पालिका कार्यसमिति र अन्य भातृ संगठनका रिक्त पदमा पदपूर्ति गरिएको थियो । साथै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेहरूलाई पनि सम्मेलनमा सम्मान गरिएको थियो ।

सम्मेलनकाे उद्घाटन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले इस्मा गाउँपालिकामा नेपाली काँग्रेसकाे उपस्थितिले थप उत्साह थपेको बताए । उनले पार्टीको संगठन बलियो भएमा मात्र सरकारमा पुगेर पनि प्रभावकारी काम गर्न सकिने भएकोले तल्लो तहमा पार्टी मजबुत बन्नुपर्ने बताए । उनले इस्मामा नेपाली काँग्रेसकाे एकता सम्मेलनबाट पुष्टि भएकोले अब थप काँग्रेस उत्साहित हुने उनलेे बताए । रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख समेत रहेका पन्थीले स्थानीय सरकारका प्रभावकारी कामले आगामी दिनमा काँग्रेसकाे विजय सुनिश्चित हुनेभएकोले आफूहरूले त्यही अनुरुप विकासका काम गरिरहेको बताए ।

सम्मेलनमा नेपाली काँग्रेस गुल्मीका पूर्वसभापति त्रैलाेक्यप्रताप सेन, उपसभापति शिव केसी, सचिव भगत सिंह खड्का, काेषाध्यक्ष अखिलेश्वर पाण्डे, सहसचिव धर्म पाण्डे, प्रवक्ता उदयबहादुर थापा, जिल्ला कार्यसमिति सदस्य लगायतका अन्य थुप्रैले सम्मेलनमा शुभकामना मन्तव्य राखेका थिए । पार्टीका पालिका सचिव बैकुण्ठ कुँवर र नारायण घिमिरेले संचालन गरेको उक्त सम्मेलनमा नेपाली काँग्रेस महासमिति सदस्य तथा इस्मा गाउँपालिकाका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रमसँग सम्बन्धित तस्बिरहरू :

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया