बासुदेव पोखरेल, गुल्मी । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँ कमिटीको तेस्रो अधिवेशन यही माघ ५ गते धुर्कोट गाउँपालिकाको केन्द्रमा आयोजना हुने भएको छ । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको गाउँ कमिटी अध्यक्ष चेतमान कुँवरले जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व ऊर्जा मन्त्री तथा माओवादी केन्द्रकी केन्द्रीय उपाध्यक्ष पम्पा भुसालले सम्बोधन गर्नुहुनेछ। साथै, लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, प्रदेश तथा जिल्ला स्तरका नेताहरूको समेत उपस्थिति रहनेछ । गाउँ कमिटीको नयाँ नेतृत्व चयन गर्ने उद्देश्यले आयोजना गरिएको यो अधिवेशनले पार्टीको सांगठनिक सुदृढीकरण र आगामी कार्यदिशा तय गर्नेछ। अध्यक्ष कुँवरले अधिवेशनले स्थानीय विकास, राष्ट्रिय राजनीति, र संगठनको सुदृढीकरणका लागि ठोस प्रस्तावहरू पारित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति गुल्मीका सदस्य राजन पोखरेलले अधिवेशनका तयारीबारे जानकारी गराउँदै यसले संगठनलाई नयाँ ऊर्जा दिने र धुर्कोट गाउँपालिकाको राजनीतिक सक्रियतालाई थप मजबुत बनाउने बताउनुभएको छ ।
स्थानीय स्तरमा अधिवेशनलाई लिएर उत्साह देखिएको छ । विभिन्न वडाका कार्यकर्ता र स्थानीयवासी सहभागी हुने जिल्ला समन्वय समितिका सदस्य पोखरेलले जानकारी दिनुभयो । कार्यक्रमले धुर्कोट गाउँपालिकाको राजनीतिक र सामाजिक विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।