गुल्मी । गुल्मीको मानव अधिकारको बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । बिहीबार सदरमुकाम तम्घासस्थित जिल्ला समन्वय समितिकाे हलमा राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश बुटवलकाे आयोजना तथा इन्सेक गुल्मीको सहजीकरणमा छलफल तथा अन्तरक्रिया गरिएको हो । ७६ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा गरिएको छलफल तथा अन्तरक्रिया इन्सेक गुल्मीका प्रतिनिधि टाेपलाल अर्यालले सहजीकरण गर्दै सुरु गरेका थिए । राष्ट्रिय मानवअधिकार आयाेग लुम्बिनी प्रदेश बुटवलका प्रमुख हरि ज्ञवालीकाे स्वागत मन्तव्य तथा प्रस्तुतिकरणसँगै कार्यक्रममा अन्तरक्रियाकाे सत्र शुभारम्भ गरिएको थिए । जसमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष तथा इन्सेक प्रतिनिधि टाेपलाल अर्याल, नागरिक समाज गुल्मीका अध्यक्ष पदप्रसाद पाण्डे, गुल्मी अस्पताल सूचना अधिकारी रमेश पन्थी र लगायतका अन्य सराेकारवाला संघसंस्थाका प्रतिनिधिले अन्तरक्रियामा सहभागिता जनाएका थिए ।
कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले मानवअधिकारकाे बिषयमा मन्तव्य राखेका थिए । उनले समग्र गुल्मीको अवस्था बुझ्दै गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्राेणबहादुर खत्रीले मानवअधिकारका बिषयमा निर्वाचित जनप्रतिनिधि नागरिकले अपेक्षा गरेजस्तो संवेदनशील बन्न नसकेको बताएका थिए । उनले यस्ता अन्तरक्रिया, बहस र छलफलले आगामी दिनमा समस्या समाधान हुँदै जाने बताए । कार्यक्रम राष्ट्रिय मानवअधिकार आयाेग लुम्बिनी प्रदेश बुटवलका प्रमुख हरि ज्ञवालीले मन्तव्यसहित समापन गरे । कार्यक्रममा सराेकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधि जिल्लास्थित क्रियाशील पत्रकारको सहभागिता रहेको थियो ।