गुल्मी । गुल्मीमा तिहारसँगै झिनीया रोटीको व्यापार राम्रो बन्दै जान थालेको छ । जिल्लाको तम्घास क्षेत्रका नेवार समुदायले झिनिया रोटी बनाएर राम्रो आम्दानी गर्दै आएका छन् । तम्घास बजार झिनिया रोटीका लागि प्रख्यात पनि रहेको छ । चाडपर्वको आगमनसँगै बजारभरी झिलीमीली झिनिया रोटी देख्न सकिन्छ ।
तम्घास बजारमा प्रशस्तै बजारभरी सुकाईएको रुपमा देख्न सकिने झिनीया रोटी विशेष गरी दीपावली तिहार पर्वमा वढी प्रयोग गर्ने गरीन्छ । सानो लगानीबाट आफ्नो घरमा फुर्सदको समयमा उत्पादन गर्न सकिने भएकाले झिनिया रोटीको व्यापारप्रति आर्कषण बढेको व्यापारीहरु बताउँछन् । तिहारमा आफ्ना दाजुभाईहरुलाई टिका लगाएपछि मिठा मिठा परिकार खुवाउने मध्ये झिनिया रोटी उत्तम मानिने प्रचलन रहेको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारमा तिहार पर्वलाई लक्षित गरेर झिनिया रोटीको व्यापार राम्रो हुने गरेको छ ।
यतिबेला झिनिया बनाउने र बिक्री गर्ने व्यवसायीलाई भ्याइ नभ्याइ रहेको छ । अन्य समयमा भन्दा तिहारमा झिनिया रोटीको बिक्री धेरै हुने गरेको झिनिया रेसुङ्गा नगरपालिका वडानम्बर–८ निवासी यमकुमारी श्रेष्ठले बताउनुभयो । उहाँले वषौंदेखि झिनिया रोटी तयार गरेर बिक्री गर्ने गरेको बताउनुभयो । अघिल्ला वर्षहरुमा भन्दा यसवर्ष झिनिया रोटीको माग बढी आएको उहाको भनाइ छ ।झिनिया रोटी पुजाआज, खाजा, पाहुनाहरुको स्वागत सत्कारको लागि छिटो छरितो तयार गरि खाजाको रुपमा प्रयोग गर्न सकिने हँुदा झिनिया रोटी हरेक हिसाबले राम्रो मानिन्छ । चाडपर्वमा मात्र खपत हुने भिनिया बाह्रै महिना राम्रो व्यापार हुने गरेको समेत तम्घास बजारको पुतली बजारमा झिनिया रोटीको व्यवसाय गर्दै आएका बिक्रम श्रेष्ठले बताउनुभयो ।
झिनिया रोटीको राम्रो व्यापार हुने भएपछि कतिपयले वषौंदेखि यसैलाई नै प्रमुख पेसा बनाएर बिक्री गर्दै आएका श्रेष्ठको भनाइ छ । झिनिया रोटी बेचेरै परिवार खर्च चलाउदै आएको उहाले बताउनुभयो । अहिले तिहार पर्वको लागि भनेर झिनियाको माग बढि नै रहेको बताउनुभयो । श्रेष्ठको घरपरिवारका सबै सदस्यहरु मिलेर व्यवस्थित रुपमै झिनिया रोटी उत्पादन गर्ने गरेका छन् । झिनिया रोटी बेचेर घरखर्च चलाउन सजिलो हुने गरेको श्रेष्ठले बताउनुभयो । यसवर्ष ६ सय दर्जन झिनिया बिक्री भइसकेको उहाको भनाइ छ ।
झिनियाको माग बढ्न थालेपछि हाल बजारका पसल–पसलमा झिनिया व्यवसाय गर्नेहरुको संख्यामा बृद्धि हुन थालेको छ । यसबाट राम्रो जिवीकोपार्जन सकिने सम्भवना देखेपछि झिनिया व्यवसाय तर्फ धेरै आकर्षण बढ्दो छ ।
बार्षिक रुपमा समग्र गुल्मी तम्घास बजारबाट लाखौं रुपियाको झिनिया रोटि बिक्रि हुने गरेको छ । तम्घास बजार झिनिया रोटीको प्रति दर्जन होलसेल १ सयदेखि फुटकर १ सय ५० देखि २ सयसम्म साइज हेरिकन बिक्री हुने गरेको छ ।
यहाँ उत्पादित झिनिया रोटी गुल्मी अर्घाखाँची, पाल्पा, बुटवल बाग्लुङ्ग लगायतका विभिन्न स्थानीय बजार बिक्री गर्ने गरेका छन् । तिहार नजिए सगै पसल–पसलमा झिनिया रोटी किन्ने ग्राहकहरुको घुइँचो लाग्ने गरेको छ ।
गुल्मी जिल्ला सदरमुकाम तम्घास बजारसँगै ग्रामीण भेगमा रहेका बजारहरुमा पनि झिनिया रोटी उत्पादन र बिक्री हुने गरेको छ । तम्घास बजारसँगै वामिटक्सार, शान्तिपुर, रिडी, वलेटक्सार बजारमा झिनिया रोटी उत्पादन र बिक्री हुने गरेको छ ।
गुल्मी जिल्लामा बिशेष गरेर नेवार समुदायका नागरिकले झिनिया रोटी उत्पादन गर्ने गरेका छन् । तिहारको रमाइलो सँगै यी रोटीहरुको ब्यापार गरी प्रशस्तै मात्रामा आम्दानी गर्न सकिने झिनिया व्यवसायीहरु बताउँछन् ।
चाडबाडको बेला यसको महत्व धेरै रहेकाले झिनिया रोटीमा ग्राहकको आर्कषण वेग्लै हुन्छ । व्यवसायीक उद्योगका रुपमा अझै विकास गर्न सकेका छैनन् ।