गुल्मी । गुल्मीदरबार गाउँपालिकामा १५० भन्दा बढी खेलाडी सहभागी गाउँपालिकास्तरीय कराँते प्रतियोगिता भर्खरै सम्पन्न भएको छ । अहिले हरेक विद्यालयमा कराँते प्रशिक्षण भइरहेको छ । हरेक विद्यालयबाट प्रतियोगितामा उत्साहजनक सहभागिता थियो ।
कराँतेका राष्ट्रिय प्रशिक्षक उमेश थापाले जापानी मार्सल आर्ट कराँते स्वदेश तथा विदेशमा स्वर्ण पदक जित्न महत्त्वपूर्ण हुने भएकाले ढुक्क भएर छोराछोरीलाई खेलमा सहभागी गराउन आग्रह गरे । हरेक स्थानीय तहले गुल्मीदरबारबाट सिक्नुपर्ने थापाको भनाइ थियो ।
यो प्रतियोगितामा महाकाली आधारभूत विद्यालय प्रथम भएको छ । महाकाली माविले १० स्वर्ण पदकसहित प्रथम स्थान प्राप्त गरेको हो । त्यस्तै, शारदा माविले चार स्वर्ण पदकसहित द्वितीय र सूर्योदय माविले दुई स्वर्ण पदकसहित तृतीय स्थान प्राप्त गरेका छन् ।
असोज २३ र २४ गते गुल्मीदरबार गाउँपालिका–३ को गौडाकोट सभाहलमा सञ्चालन भएको प्रतियोगितामा गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहेको थाक्सीपोखरा मावि, वडा नं. २ जुभुङको सूर्योदय मावि र महाकाली आधारभूत विद्यालय सहभागी भएका थिए । त्यस्तै, वडा नं. ३ गौडाकोटको म्यालपोखरी मावि, वडा नं. ४ वीरबासको रुन्खादह मावि र वडा नं. ५ अमरअर्वाथोकको शारदा माविका गरी करिब १५० भन्दा बढी खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेको गुल्मीदरबार गाउँपालिकाका खेल प्रशिक्षक सागर सोमैले जानकारी दिए ।
प्रतियोगितामा पदकका आधारमा प्रथम, द्वितीय र तृतीय हुनेलाई ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको छ । खेलको माध्यमबाट शारीरिक तथा मानसिक विकास गर्दै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रशिक्षक सोमैले बताए ।









