✍️ केशव आचार्य
दक्षिण कोरिया १९५० को कोरियन युद्धपछि पूर्ण रूपमा ध्वस्त अवस्थामा थियो। युद्धको विनाशपछि देश पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय सहयोग, विशेषगरी अमेरिका र पश्चिमी मुलुकहरूको सहयोगमा अघि बढ्यो।
तर कोरियाको विकासले ती सहयोगहरूभन्दा बढी आन्तरिक रणनीति र दृढ नेतृत्वमा भर पर्यो। १९६० को दशकमा राष्ट्रपति पार्क चुंग हीको नेतृत्वमा देशले निर्यातमुखी औद्योगिकरणको नीति अँगाल्यो। सरकारले औद्योगिक क्षेत्रमा योजना अनुसार लगानी गरेर स्टील, जहाज निर्माण, र भारी उद्योगहरूमा तीव्र विकास गर्यो। यसका लागि सरकार र निजी क्षेत्रबीच गहिरो सहकार्य गरियो, जसबाट चेबोल भनिने ठूला पारिवारिक कम्पनीहरू जस्तै स्यामसुङ, एलजी, र हुन्डाईले बलियो स्थान बनाए।
साथै, शिक्षा प्रणालीमा ठुलो लगानी गरियो, जसले दक्ष र परिश्रमी जनशक्ति तयार गर्यो। श्रम उत्पादनशीलता उच्च थियो, र सस्तो श्रमको फाइदा उठाएर विदेशी लगानी आकर्षित गरियो। सरकारको “सेमा उल उनदोंग” (नयाँ गाउँ आन्दोलन) जस्ता योजनाले ग्रामीण क्षेत्रलाई पनि विकासको प्रवाहमा ल्यायो। कोरियाले आफ्नो अर्थतन्त्रलाई निर्यातमा केन्द्रित राख्दै प्रतिस्पर्धात्मक उत्पादनहरू विश्व बजारमा पुर्यायो।
१९८० को दशकमा टेक्नोलोजी र अनुसन्धानमा ध्यान दिइयो र १९९०–२००० को दशकसम्म आइपुग्दा दक्षिण कोरिया IT, इलेक्ट्रोनिक्स र डिजिटल प्रविधिमा अग्रणी देश बन्यो। सँगै K-pop र K-drama जस्ता सांस्कृतिक निर्यातले कोरियाको ‘सफ्ट पावर’ समेत बलियो बनायो। सार्वजनिक सेवा, यातायात, स्वास्थ्य र प्रशासनिक संयन्त्रलाई डिजिटल, पारदर्शी र दक्ष बनाउँदै कोरियाले समृद्ध राष्ट्रको रूपमा आफ्नो पहिचान बनायो।
सबैभन्दा महत्त्वपूर्ण कुरा, कोरियाली समाज अत्यन्त संगठित, अनुशासित, शिक्षित र राष्ट्रप्रति समर्पित थियो। यिनै कारणहरूले गर्दा दक्षिण कोरिया आज एशियाकै मात्र होइन, विश्वकै एक शक्तिशाली र विकसित राष्ट्र बनेको हो।
के हामी नेपालीहरुले यो कुरा सिक्नै नहुने हो?
(लेखक आचार्य मालिका गाउँपालिका ५ गुल्मीका स्थायी बासिन्दा हुन् । उनी हाल राेजगारीकाे सिलसिलामा दक्षिण काेरिया छन् ।)