गुल्मी । बाध्यता र रहर जीवनका दुई फरक पाटा हुन्। कोही रहरले झुप्रोमा बस्न रुचाउँछन् भने कोही बाध्यताले। सुशील चन्द एक सामान्य परिवारका व्यक्ति हुन्। अरूको दुःख–पीडा नजिकबाट बुझ्न सक्ने उनी आफैँ पनि त्यही गाउँको माटोमा हुर्किएका हुन् ।
मदाने गाउँपालिका–१, अग्लुङ्ग फेदी निवासी सुशील चन्द हाल अग्लुङ्गका वडा अध्यक्ष हुन्। २०७९ सालमा उनको विगतदेखिको कार्यशैलीकै कारण उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
हालसम्म उनले अग्लुङ्गमा थुप्रै विकास निर्माणका काम सम्पन्न गरिसकेका छन्। फेरि चुनाव जित्नकै लागि मात्र होइन, उनी अग्लुङ्गको दीगो जग बसाल्न चाहन्छन्। भौगोलिक रूपमा अग्लुङ्ग कम विकसित वडा मानिन्छ। यही कारण उनले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र यातायातलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेका छन्, जुन पाँच वर्षभित्र आफूले सोचेअनुसार सम्पन्न गर्ने लक्ष्य लिएका छन्।
अग्लुङ्गमा केही उच्च वर्गका व्यक्तिहरू भए पनि अधिकांश मध्यम वर्गीय परिवारहरूको बसोबास छ। रोजगारी, शिक्षा र स्वास्थ्यका कारण धेरै नागरिक पछि परेको अवस्था देखिन्छ।
अग्लुङ्गको मोटरबाटोको अवस्था
गुल्मीको पश्चिमी भेगमा पर्ने अग्लुङ्ग अन्य वडाको तुलनामा पिछडिएको मानिए पनि पछिल्ला केही वर्षमा विकासले उल्लेखनीय फड्को मारेको छ। हाल प्रत्येक साविक वडासम्म मोटरबाटो पुगेको छ। केही स्थानमा ढलान सम्पन्न भइसकेको छ भने केही ठाउँमा पिच सडकको ठेक्का लागिसकेको छ। अबका केही वर्षमा अग्लुङ्गको मुख्य सडक पिचमा सहज रूपमा यात्रा गर्न सकिने अपेक्षा गरिएको छ।
स्वास्थ्यको अवस्था
भौगोलिक रूपमा अग्लुङ्ग ठूलो वडा हो। एक साविक वडाबाट अर्को पुग्न करिब ४५ मिनेट लाग्छ। मोटरबाटोको पहुँचपछि नागरिकले केही राहत महसुस गरेका छन्। साविक वडालाई मध्यनजर गर्दै स्वास्थ्य इकाइ सञ्चालन गरिएकाले सेवासुविधा पनि क्रमशः विस्तार भएको छ।
शिक्षाको अवस्था
केही वर्षअघि अग्लुङ्गमा एसएलसी वा एसईईको नतिजा सन्तोषजनक थिएन। तर पछिल्लो समयमा करिब ५० प्रतिशत सुधार भएको वडा अध्यक्ष चन्द बताउँछन्। हाल अग्लुङ्गमा दुई वटा माध्यमिक विद्यालय सञ्चालनमा छन्। अनुभवी शिक्षकको उपलब्धताले नतिजा सुधारमा महत्वपूर्ण भूमिका खेलेको उनीहरूको भनाइ छ।
कृषि तथा पशुपालन
अग्लुङ्ग विभिन्न बालीका लागि उर्वर भूमि मानिन्छ। वडाले विभिन्न बीउबिजन वितरण गर्दै आएको वडा अध्यक्ष चन्द बताउँछन्। यहाँ मुख्य रूपमा आलु, कोदो र मकै उत्पादन हुन्छ। गाईपालन गर्ने किसानलाई समेत वडाबाट केही आर्थिक सहयोग प्रदान गरिएको छ।
चिटिक्क नयाँ घर कसका लागि उपहार ?
चिसो मौसममा सबैलाई न्यानो घरको आवश्यकता पर्छ। यही परिवेशमा वडा अध्यक्ष सुशील चन्द गिरबहादुर बिष्टका लागि भगवान बनेर उपस्थित भएका छन्।
मदाने गाउँपालिका–१, अग्लुङ्ग निन्युखर्क निवासी ७७ वर्षीय गिरबहादुर बिष्ट अर्काको घरमा आश्रय लिएर बस्दै आएका थिए। उनका आफ्ना त थिए, तर अपनत्व थिएन। न छानो सुरक्षित थियो, न चिसोबाट जोगिने कपडा। यो अवस्था सुशील चन्दलाई थाहा थियो, तर वडाबाट कानुनी रूपमा तत्काल केही गर्न सक्ने अवस्था थिएन।
तर त्यो दर्दनाक अवस्था चुपचाप हेरेर बस्न नसकेपछि चन्दले अर्को विकल्प रोजे। उनले सामाजिक सञ्जालमार्फत भिडियो बनाएर सहयोग अभियान सुरु गरे। देश–विदेशबाट थुप्रै सहयोगीहरू मानवताको देवदूत बनेर अघि आए।
केही दिनमै २ लाख १५ हजार रुपैयाँ सहयोग संकलन भयो। सोही रकमबाट छोटो समयमै चिटिक्कको नयाँ घर निर्माण गरी हस्तान्तरण गरियो। सहयोगी व्यक्ति र संस्थाको योगदानले गिरबहादुर बिष्टको जीवनमा नयाँ उज्यालो थपिएको छ। गिरबहादुर बिष्ट सुशील चन्दलाई आफ्ना जन्मदाताजस्तै मान्छन्। “बुढेसकालमा यस्तो दिन देख्न पाइन्छ भन्ने सोचेको थिइनँ,” भन्दै उनी भावुक हुन्छन्। अब उनी चिसोमा सुत्नुपर्ने छैन, असुरक्षित घरमा बस्नुपर्ने छैन। वडा अध्यक्ष सुशील चन्दले सहयोग गर्ने सम्पूर्ण व्यक्ति र संस्थालाई धन्यवाद व्यक्त गरेका छन्।









