गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट झण्डै २ महिनापछि नियमित उडान सुचारु भएको छ । मौसम खराबको कारण गत असारको दोस्रो साता उडान अबरुद्ध हुँदै आएको थियो ।
मौसममा सुधार आएसंगै आजदेखि नेपाल एयरलाइन्सको विमानले उडान गरेको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । आज काठमाडौंबाट गुल्मीका लागि १२ जना यात्रु सवार थिए । अब मौसमको अबस्था हेरेर हप्ताको एक दिन शुक्रबार उडान गर्ने थापाले बताए । हप्ताको ३ पटक उडानको अनुमति पाएको विमानस्थलमा गत असार १४ गतेपछि मौसम खराबको कारण उडान हुन सकेको छैन् । रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ । बर्खा लागेसँगै उडान गर्ने बिहानीको समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले समस्या हुँदै आएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए ।
नेपाल एयरलाइन्सको ट्वीनिटर जहाज उडान गर्दै आएको छ । यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको छ । तर पछिल्लो केहि समयदेखि शुक्रबार मात्रै उडान भइरहेको स्टेशन प्रमुख थापाले बताए । हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तराष्ट्रिय पर्यटन भित्रिन थालेका छन् । अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको छ । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर–१० को सिमीचौरमा पर्दछ ।
जिल्ला सदरमुकाम तम्घासबाट करिव ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ । विमानस्थलबाट गतवर्षको वैशाख २९ गतेबाट व्यवसायिक उडान शुरु गरिएको थियो । गुल्मीबाट झण्डै डेढ वर्षको अवधीमा ६९ वटा उडानमा ८ सय भन्दा बढि नागरिकले हवाई सेवा लिएको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । गुल्मीबाट धेरै जसो बृद्ध, बिरामी, सुत्केरी लगायतका नागरिकले सेवा लिएको थापाले बताए ।