गुल्मी । गुल्मी जिल्ला अदालतमा गत आर्थिक वर्ष २०८०/०८१ मा ७१ प्रतिशत मुद्दा फैसला भएका छन् । जिल्ला अदालत गुल्मीले शुक्रबार वार्षिक समिक्षा कार्यक्रममा सार्वजनिक तथ्याङक अनुसार गत आर्थिक वर्ष कुल ६७४ थान मुद्दा रहेकोमा ४८० थान मुद्दा फर्छयौट जिल्ला अदालत गुल्मीका जिल्ला न्यायाधीश युवराज गौतमले बताउनुभयो ।
जस अनुसार ७१ लशमलव १२ प्रतिशत मुद्दा फैसला भएका हुन् । अदालतको लक्ष्य अनुसार वार्षिक रुपमा फैसला गर्नुपर्ने मुद्दाको सङख्या ४५४ मध्ये असार मसान्तसम्म ४८० थान मुद्दा फर्छयौट भएकाले लक्ष्य भन्दा २६ मुद्दा बढी फर्छयौट भएको गौतमले बताए । अदालतले राखेको लक्ष्य अनुसार १०५ दशमलव ७१ प्रतिशत प्रगती भएको छ । अघिल्लो आर्थिक वर्ष १९४ मुद्दा बाँकी रहेको अदालतले जनाएको छ । गतवर्ष जिल्लामा ६५ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनि मुद्दा दर्ता गराएका छन् । जस मध्ये ४३ मुद्दा फर्छयौट भएको र २२ वटा मुद्दा फर्छयौट गर्न बाँकी रहेको अदालतका श्रेस्तेदार सुर्दशन खनालले बताउनुभयो ।
गत आर्थिक वर्षमा अदालतमा ३८३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा ३१० मुद्दा फर्छयौट भएकोमा ७३ मुद्दा फर्छयौट गर्न बाँकी रहेका छन् । पुरुष वादी भएका ६५ मध्ये ४३ र महिला वादी भएका ३१८ मध्ये २६७ मुद्दा फर्छयौट भएका छन् । आर्थिक वर्ष २०७९ । ०८० मा ७३ जना पुरुषले श्रीमतीसंग सम्बन्ध विच्छेद गरी पाउँ भनि मुद्दा दर्ता गराएका थिए । सम्बन्ध बिच्छेद सम्बन्धी परेको कुल ३८२ थान मुद्दाहरु मध्ये ७३ जना पुरुषले श्रीमतीसँग सम्बन्ध विच्छेद गरी पाउँ भनि मुद्दा दर्ता गराएका थिए । मुलुकी देवानी संहिता २०७४ अनुसार पुरुषले पनि सोझै अदालतमा गई सम्बन्ध विच्छेद गरी पाँउ भनि मुद्दा दर्ता गर्न सक्ने भएपछि पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराएका छन् । बिशेष गरी श्रीमान बैदेशिक रोजगारीमा रहँदा श्रीमतीले आर्थिक हिनामिना गर्ने, आन्तरिक झैझगडा र पर पुरुषसँगको सम्बन्धका कारण पुरुषले सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्ने गरेको जिल्ला न्यायाधीस गौतमले बताउनुभयो ।
महिलाहरुले पुरुषसँग सम्बन्ध विच्छेद गरी पाउँ भनि ३०९ थान मुद्दाहरु मध्ये २७२ थान मुद्दाहरु फर्छयौट भएका छन् । ३७ थान मुद्दा फर्छयौट गर्न बाँकी रहेका छन् ।
महिलाहरुले पुरुषसँग सम्बन्ध विच्छेदका मुद्दा दर्ता गर्नुका कारणहरुमा बैदेशिक रोजगारी, घरेलु हिंसा लगायतका कारणहरु रहने गरेको अदालतले जनाएको छ ।