गुल्मी । गुल्मीमा वर्षेनी धान रोपाइँ गर्ने क्षेत्रफल घटदै गएको छ । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा लगातार धान रोपाइँ गर्ने क्षेत्रफल घटदै गएको पाइएको हो ।
जिल्लामा मध्य साउन बित्दै गर्दा जिल्ला भर ९३ प्रतिशत धान रोपाइँ भएको छ । जिल्ला भर यसवर्ष ७ हजार १८९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
जिल्लामा जेठको अन्तिम साताबाट रोपाइँ सुरु गरेर साउनको अन्तिम सातासम्म बर्खे धान खेती रोप्ने गर्दछन् । छिटफुट बाहेक जिल्लामा धान रोपाइँ सकिएको छ ।
यसवर्ष समयमै पानी परेकाले धेरै जसो ठाउँमा समयमै रोपाइँ भएको छ । कुल ८ हजार ९५३ हेक्टरमा धान खेती गर्ने उब्जाउ योग्य जमिन रहेको छ । तर वर्षेनी धान रोप्ने क्षेत्रफल गटर्दै गएको छ ।
पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा जिल्लामा धान रोप्ने क्षेत्रफल घटेको पाइएको हो । आर्थिक वर्ष २०७५/०७६ मा ८ हजार १७१ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो ।
त्यस्तै २०७६/०७७ मा ७ हजार ७३४ हेक्टर, २०७७/०७८ मा ७ हजार ९२६ हेक्टरमा धान खेती गरेको पाइएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताए ।
आर्थिक वर्ष २०७८/०७९ मा ७ हजार ८४४ हेक्टर र २०७९/०८० मा ७ हजार २१० हेक्टरमा क्षेत्रफलमा धान खेती गरिएको थियो । यो तथ्याङ्कका आधारमा प्रत्येक वर्ष धान उत्पादन गर्ने क्षेत्रफलमा कमी आएको हो ।
जिल्लामा सबैजसो ठाउमा सिंचाईको प्रयाप्त व्यावस्था नहुँदा किसानहरु आकाशे पानीमा भरपर्नु पर्ने बाध्यता छ । गाउँमा धेरै जनशक्ती बिदेसीदै जाने गर्नाले ज्याला मजदुरी गर्ने खेतालाहरु नपाएको भन्दै खेतीयोग्य जमिन बाँझो हुनेक्रम पनि बढ्दै जान थालेको छ ।
यसैको प्रभावले धान रोप्ने क्षेत्रफल घटदै गएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ । जिल्लाभर रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान यहाँका कृषकहरुले लगाउने गरेका छन् ।
हाइब्रिड जातहरुमा च्याम्पियन, शंकर, उपज लगायत रहेका छन् । यसवर्ष कृषि ज्ञानकेन्द्रले रैथाने बाली संरक्षण गर्न भन्दै धानको बीउ समेत वितरण गरेको भण्डारीले बताए ।
जिल्लामा हाल ३ हजार ६ सय २६ क्षेत्रफमा वर्षभरि नै सिंचाइको व्यवस्था रहेको छ । ६ हजार ६ सय ९० क्षेत्रफल खेतमा आशिंक सिंचाइको व्यवस्था रहेको छ ।
जिल्लामा धानखेती कालीगण्डकी गाउँपालिकाको अर्बेनी, कनौटा र छापचौर, सत्यवतीमा लिम्घा, अस्लेवा, खैरेनी ,साहाघाट र चेहमीका फाँटहरुमा रहेका छन् । त्यस्तै मुसिकोट नगरपालिकामा तल्लाफाँट, इन्दे्रगौडां, भुवाचिदि, वामीटक्सार, पौदीअरेवा, धान खेती हुन्छ ।
मालिका गाउँपालिकाको सिमलटारी, मदानेको सिर्सेनीको सिम, अग्लुङफेदी र भनभनेको तल्लो क्षेत्र, धुर्कोटको पनाहाखोला र छल्दीको आसपास, इश्माको चौरासी फाँट, हुलाके, छल्दीखोलाको र निस्ती खोलाको आसपासमा धान खेती गरिदै आइएको छ । गुल्मीदरबारको गरमटारी, खरज्याङ, टारीफाँट र घोडाहाफाँट, छत्रकोटको खरज्याङ, मनवाग, अगाहा, उल्लिखोला रुरुको टाहाटिम, घिउँवेशी लगायतका क्षेत्रमा धान खेती गरिदैं आएको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।