खुट्टाले लेखेर एसइई दिँदै गुल्मीका ऋषिराम



टाेपलाल अर्याल


गुल्मी । देशभर बिहीबारबाट एसइई सञ्चालन हुँदै छ । गुल्मीमा पनि चार हजार ९७ जनाले एसइई दिँदै छन् । तीमध्येका एक हुन्– छत्रकोट– ४ का १९ वर्षीय ऋषिराम कँडेल । उनले खुट्टाले लेखेरै एसइई दिँदै छन् । श्रृंगा जनता माविमा अध्ययनरत कँडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिन लागेका हुन् । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष वामदेव ज्ञवालीले जानकारी दिए । कँडेलले आवश्यकताका आधारमा डेढ घण्टासम्म थप समय पाउने उनको भनाइ छ ।

ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले आफ्नो भविष्य कोर्दै छन् । ऋषिराम परीक्षामा सहभागी हुने कुराले उत्साहित छन् । परीक्षाको तयारी पनि राम्रो गरेको उनले बताए । ‘परीक्षाले उत्साहित छु । सकेको मिहिनेत पनि गरेको छु,’ उनले भने, ‘३.२ अंकको आशा छ ।’ उनी घरबाटै केन्द्रमा पुगेर परीक्षा दिने योजनामा छन् । घरबाट केन्द्रसम्म पुग्न करिब ३० मिनेट लाग्छ । बुुबा लक्ष्मण कँडेलले ऋषिरामलाई मोटरसाइकलमा आउ–जाउ गराउने बताए । बाबु–छोराले नै शारीरिक अवस्थाका कारण नजिकै केन्द्र नहुँदा स्वाभाविक सास्ती हुने गुनासो गरे । समाजमा कैयौँ अपांगता भएका व्यक्ति छन् । तर, उनीहरूले कोठा र बिस्ताराबाट आफूलाई बाहिर ल्याउन सकिरहेका छैनन् । ऋषिरामका हातखुट्टा कमजोर छन् । तर, बौद्धिक क्षमता सबलको भन्दा अब्बल छ । दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् । त्यसैले श्रृंगा जनता माविका उत्कृष्टमध्येका विद्यार्थी हुन् कँडेल । उनी सपांगता भएका व्यक्तिका मार्गदर्शक पनि हुन् । उनी सबै विधा र क्रियाकलापमा उत्कृष्ट छन् । उनले कक्षा ४ सम्म घरनजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृंगा जनता माविमा पढ्दै आएका थिए ।

Jeewan and Rajan Tailors

ऋषिराम ‘क’ वर्गको अपांगता भएका व्यक्ति हुन् । अरूको सहाराविना केही गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति गरेनन् । बुबा लक्ष्मणले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पुर्‍याउँथे । गेटमै आएका साथीहरूले उचालेर कक्षाकोठामा पुर्‍याएर सहयोग गर्थे । साँझ ठीक ४ बजे बुबा स्कुलको गेटमा पुग्थे । सबैको माया, सदभाव र सहयोग पाएकाले कहिल्यै कमजोर महसुस नगरिएको ऋषिरामले बताए । ‘जन्मलाई पछुतो मानेर होइन, अवसरका रूपमा पढिरहेको छु,’ उनले भने, ‘परिवार र समाजबाट कहिल्यै हीनताबोध भएन ।’ खुट्टाले कलम छोप्न थालेको ऋषिरामलाई सम्झना छैन । बच्चामा हात उठ्दैनथे । खुट्टाका औँलाले पहिले समाउन खोज्थे । परिवारले सिसाकलम र पेन दिन थाले । बिस्तारै अभ्यास हुँदै गएपछि उले सबै काम खुट्टाले गर्न थाले ।

The Star Family Restaurant

ऋषिराम कँडेल परिवारको एक्लो सन्तान हुन् । पहिलो सन्तान नै पूर्ण अपांगता जन्मिएपछि कँडेलदम्पतीले पाँच वर्षसम्म छोराको उपचारमै दौडधुप गरे, तर अवस्थामा सुधार आएन । त्यसपछि निरन्तर स्याहारसुसार र अध्ययनमा नै परिवारको ध्यान गयो । छोराको अपांगतासँग परिवारलाई कुनै पछुतो छैन । छोराले पनि अहिलेसम्म कुनै कुरामा ग्लानि गर्नुपरेको छैन । शिक्षादीक्षासँगै पूर्ण अपांगता छोरालाई १९ वर्षको बनाउन परिवारले कम चुनौती झेलेको छैन ।

तर, कहिल्यै छोराको चित्त दुखाउने र स्कुल छुटाउने काम नगरेको बुबा लक्ष्मणले सुनाए । उनले आफ्नो लक्ष्य र सपना नै छोराले पढ्न सकेको पढाउने रहेको बताए । ‘हामीले न अरू सन्तान सोच्यौँ, न फरक दृष्टिकोण राख्यौँ । श्रीमान्–श्रीमती नै उसको सेवामा रातदिन लागेका छौँ,’ लक्ष्मणले भने, ‘यो नजन्मिएको भए बन्द कोठाभित्रै हुन्थ्यो ।’

लक्ष्मणदम्पतीले गाउँमा कृषि कर्म गर्दै आएका छन् । उनले अहिलेसम्म राज्यका सबै निकायबाट सहयोग पाएकाले कुनै गुनासो नभएको प्रतिक्रिया दिए । ऋषिराम कँडेल सबै विधामा विद्यालयमै सबैभन्दा उत्कृष्ट प्रतिभा भएको श्रृंगा जनता माविका प्रध्यानाध्यापक विकासचन्द्र खरेलले बताए । पढाइ, लेखाइ, चित्रकला, गीत, अभिनयलगायत विधामा ऋषिरामले सबैलाई उछिन्दै आएको खरेलको भनाइ छ ।

कँडेल परिवार र ऋषिराम उदाहरणीय पात्र भएको सबै अपांगता भएका परिवारले सिक्नुपर्ने बताए । ‘चेतना र घरपरिवारको सहयोगविना अपांगता बालबालिकाको आत्मविश्वास राम्रो हुँदैन । ऋषिराम अपांगसँगै सग्ला हात–खुट्टा भएका व्यक्तिहरूको पनि उदाहरण हुन्,’ उनले भने, ‘घरपरिवार, समुदाय र परिवारबाट राम्रो सहयोग भएको छ ।’ विद्यालयमा अपांगता विद्यार्थीका लागि आवासीय अध्ययनको सुविधा छ । तर, ऋषिराम सहयोगी चाहिने भएकाले घरमै जान्छन् । यो समाचार गुल्मीबाट टाेपलाल अर्यालले नयाँ पत्रिकामा लेख्नुभएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया