गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य मावि ६० बर्षमा प्रवेश गरेको छ । सो अवसरमा रामराज्यले हीरक महोत्वको तयारी गरिरहेको छ । आगामी जेठ ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने हीरक महोत्सवको लागि आर्थिक सङ्कलन र व्यावस्थापकीय कार्यहरु तिव्र रुपमा भइरहेका छन् ।
अहिलेसम्म हीरक महोत्सवको लागि रामराज्य माविका पुर्व बिद्यार्थी तथा स्थानीय शुभचिन्तकहरुले गरेर ६ लाख ५७ हजार ६०६ रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको रामराज्य माविका लेखापाल केशव जिसीले जानकारी दिनुभयो । सामाजिक सञ्चालनबाट बिद्यालयको क्यु आरमा रकम जम्मा गरेर विवरण टिपाउनेहरु धेरै छन् ।
अहिलेसम्म ८० जना आर्थिक सहयोग सङ्कलन अभियानमा जोडिएका छन् । सङ्कलन भएको विवरण अनुसार एक हजारदेखि सवा लाख रुपियाँसम्म बिद्यालयलाई सहयोग गर्नेहरु रहेका छन् । इस्मा गाउँपालिका–४ कल्यार घर भई वुटवल निवासी अमृत जिसीले दिवंगत बुवाको सम्झानामा १ लाख ११ हजार १११ रुपियाँ बिद्यालयलाई प्रदान गर्नुभएको छ ।
बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतले बिद्यालय स्थापना भएको ६० बर्ष पुराको अवसरमा आयोजना गरिएको हीरक महोत्सव बिद्यालय र समग्र इस्मालीको लागि गौरवको बिषय भएकाले सवै तहबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगको आव्हान गर्नुभयो ।
महोत्सवलाई सफल बनाउन महतको संयोजकत्वमा १६१ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यस्तै महतकै संयोजकत्वमा १७ सदस्यीय सचिवालय गठन गरिएको छ । त्यस्तै हीरक महोत्सव मुल आयोजक समितिको बैठकले डम्बर बहादुर बिष्टको संयोजकत्वमा आर्थिक संकलन उपसमिति र कृष्ण प्रसाद रिजालको संयोजकत्वमा भौतिक व्यावस्थापनसहित १३ भन्दा बढि उपसमिति गठन गरेको छ ।
महोत्सवको अवसरमा सम्मान, विविध साँस्कृतिक कार्यक्रम तथा बौद्धिक स्तरका खेलहरु सञ्चालन हुनेछन् । यो बिद्यालय रामराज्य मिडिल स्कुलको रुपमा २०२२ सालमा स्थापना भएको थियो । बिद्यालयले २०३१ सालमा स्थायी स्वीकृति प्राप्त गरेको थियो ।
त्यसपछि २०४४ सालबाट माद्यामिक तहको अध्यापक सुरु गरेर २०५२ सालदेखि माद्यामिक तहको स्थायी स्वीकृति प्राप्त गरेको प्रध्यानाध्यापक खड्काले बताउनुभयो ।
यसैगरी यस बिद्यालयले २०६५ साल असार १६ गतेबाट उच्च मावि तहको अस्थायी सम्बन्धन प्राप्त गरेको थियो । अहिले रामराज्य माविमा कक्षा बालविकासदेखि कक्षा १२ सम्म कुल ५१४ जना बिद्यार्थीले अध्ययन गरिरहेका छन् ।









