गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेमा नयाँ वर्ष र भार्से जनसहयोग माविको ७६ औं वार्षिकोत्सवको अवसरमा खुल्ला पुरुष ए साइड फुटबल प्रतियोगिता तथा सांस्कृतिक मेला आयोजना हुने भएको छ । थाप्ले क्लब भार्सेले आयोजना गरेको उक्त प्रतियोगितामा विजेताले ८० हजार र उपविजेताले ४० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुनका लागि ६ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । फिफा नियम अनुसार सञ्चालन हुने खेलमा अनुशासनलाई ध्यानमा राख्दै एल्लो कार्ड पाउने खेलाडीलाई एक सय र रेड कार्ड पाउनेलाई दुई सय रुपैयाँ जरिवाना गरिने क्लबका कार्यवाहक अध्यक्ष सुजन गलामीले जानकारी दिनुभयो । यसका लागि टिमले खेल अगावै एक हजार रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
साथै नयाँ वर्षकै अवसरमा आयोजित भार्से मेला तथा सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू छत्र शाही, काजल जोशी र दीपिका बयाम्बुको विशेष प्रस्तुति रहने क्लबले जनाएको छ । यस क्षेत्रको खेलकुद स्तर वृद्धि र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।








