गुल्मी । बागलुङको बडिगाड गाउँपालिकाले तथ्यहीन समाचार प्रति भ्रममा नपर्न सबैसंग अनुरोध गरेको छ । गाउँपालिकाबाट विद्यालयमा वितरण हुने औषधीमा म्याद गुज्रेको औषधी वितरण भएको भन्दै बिहिवार बडिगाड अनलाईनमा प्रकाशित समाचारमा सत्यता नभएको र पालिकाबाट उक्त औषधी वितरण गर्ने समय नै यो नरहेको भन्दै गाउँपालिकाले भ्रममा नपर्न अनुरोध गरेको हो ।
बडिगाड गाउँपालिका अन्तर्गतका कुनै पनि स्वास्थ्य संस्थाबाट समाचारमा भनिएबमोजिम एक साता अगाडि कुनै आइरन तथा फोलिक एसिड वितरण नभएको गाउँपालिकाले स्पष्ट पारेको छ । गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीद्धारा जारी विज्ञप्तिमा गाउँपालिकाको सिंगो संस्थालाई बदनाम गर्ने र जनतालाई भ्रम सिर्जना गर्नका लागि यस्तो समाचार प्रकाशन गरेको भन्दै खेद प्रकट गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ- “अहिले आइरन तथा फोलिक एसिड खुवाउने चरणको महिना पनि होईन समाचारमा मसिंरको अन्तिम साता विद्यालयमा औषधी वितरण गरेको भनिएको छ तर पालिकाले उक्त समयमा कुनै पनि औषधि विद्यालयमा वितरण गरेको छैन ।”
गाउँपालिकाले पालिका भित्रका सम्पूर्ण विद्यालयहरुमा साउन, भदौ र असोज महिनामा आइरन तथा फोलिक एसिड सबै किशोरीहरुलाई खुवाईसकेको समेत प्रष्ट पारेको छ । प्रमाणविहिन र अपुष्ट एवम् तथ्यहीन समाचार प्रकाशन प्रशारण गर्ने मिडिया र कतिपय सामाजिक सञ्जालमा जनप्रतिनिधि र कर्मचारीको व्यक्तिगत चरित्र हत्या हुने गरी अपमानजनक अभिव्यक्ति उल्लेख गरिएको भन्दै गाउँपालिकाले त्यस्ता गलत हर्कत विरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम काुनुनी कारबाही अगाडी बढाउने समेत चेतावनी दिएको छ ।
निर्देशिकमा के छ ?
किशोरीहरुमा हुने शारिरीक तथा मानसिक विकास र रक्तअल्पताको समस्यालाई नियन्त्रण गर्न नेपाल सरकारले हरेक वर्ष किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाउँदै आएको छ । किशोर किशोरीहरुकालागि पोषण कार्यक्रम सञ्चालन निर्देशिका २०७६ बमोजिम आइरन फोलिक एसिड चक्की १० देखि १९ वर्ष उमेर समूहका किशोरीहरुलाई खुवाउने गरिन्छ ।
केन्द्र सरकारकै नीति र तालिकामा देशभरका विद्यालयहरुले औषधी खुवाउने गर्दछन् । सरकारले २६/२६ हप्ताको फरकमा यो किशोरीहरुलाई औषधि खुवाउने गरेको छ । यस कार्यक्रमलाई स्थानीय सरकारले सहजीकरण गर्दै आईरहेका छन् ।
उक्त तालिका अनुसार पहिलो चरणमा साउन, भदौ र असोज अनि दोस्रो चरणमा माघ, फागुन र चैतमा किशोरीहरुलाई आइरन फोलिक एसिड चक्की खुवाइने गरिन्छ । विद्यालय जाने किशोरीहरुलाई विद्यालयमै र विद्यालय नजाने किशोरीहरुका लागि स्वास्थ्य स्वंय सेविका मार्फत घरमै पुगेर औषधी वितरण गरिन्छ । तालिका अनुसार गाउँपालिकाले अब माघमा मात्रै चक्की खुवाउने छ ।
यस्तो छ किशोर किशोरीहरुकालागि पोषण कार्यक्रम सञ्चालन निर्देशिकामा भएको व्यवस्था
यस्तो छ बिज्ञप्ति