गुल्मी । फरार रहेका ढाेरपाटन नगरपालिका प्रमुख नेपाली सम्पर्कमा आएका छन् । बाग्लुङको ढाेरपाटन नगरपालिका प्रमुख देबकुमार नेपाली विगत ६ महिनादेखि फरार थिए ।
मंगलबार सामाजिक संजाल फेसबुक मार्फत सम्पर्कमा आएर उनले सबै समस्याकाे समाधान गर्ने र आफू ढाेरपाटन नगरपालिकाका जनताको सेवामा समर्पित हुने बताएका छन् । उनी आफैले चलाएको सहकारीमार्फत बचतकर्ताकाे करोडौं रकम हिनामिना गरेर फरार भएका थिए ।
फरार नेपाली कहाँ र कस्ताे अवस्थामा थिए भन्ने एकिन नभएपनि उनले बचतकर्ताकाे सबै रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका छन् । साथै ढाेरपाटन नगरपालिका प्रमुखको जिम्मेवारीमा सधैं जनताको सेवामा लाग्ने बताएका छन् । उनकाे बागलुङको बुर्तिबाङ, बाग्लुङ, कास्कीको पाेखरा र काठमाडौंका विभिन्न ठाउँमा थुप्रै घर छन् ।
उनले बचतकर्तालाई फिर्ता गर्ने रकमको वास्तविक एकिन नभएपनि ७० करोड भन्दा बढी रकम हिनामिना गरेको आराेप छ । उनले सहकारीको समस्या समाधान गर्न ६ महिनाको समय आफू सम्पर्कबिहिन हुनुपरेको दाबी गरेका छन् । नेपाली बागलुङको ढाेरपाटन नगरपालिकाकाे मेयरमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए । ढाेरपाटनकाे मेयरमा उनको दाेस्राे कार्यकाल हो ।