अब गुल्मीका लागि जोर्तेको विकल्प ‘अर्गली–रानीमहल–तानसेन’ सडक



सन्तोष महतारा


गुल्मी । पाल्पामा वैकल्पिक सडकको प्रयोगमा बेवास्ता गरिएको छ । हाल स्तरोन्नति भइरहेको जोर्ते सडक खण्डको विकल्पका रूपमा अर्को सडक भए पनि त्यसको प्रयोगमा भने बेवास्ता भइरहेको हो । जिल्लाको तानसेन नगरपालिका–१४ अर्गलीको अर्गली चोकबाट रानीमहल हुँदै सदरमुकाम तानसेन पुग्न सकिने सहज सडक छ ।

कालिगण्डकी करिडोरअन्तर्गत अर्गली–रानीमहल सडक र रानीमहलबाट तानसेन पुग्नका लागि कालोपत्रे फराकिलो सडक रहे पनि यसको प्रयोग कमै मात्रामा भएको पाइन्छ । जोर्ते सडकखण्ड दुर्घटनाग्रस्त क्षेत्र हो । अघिल्लो हप्तामात्रै जोर्तेमा दुई दिनको फरकमा दुई स्कार्पियो दुर्घटनामा परे । जसबाट तीन जनाको मृत्यु भयो । १३ जना घाइते भए । यतिमात्र होइन, जोर्ते सडकखण्ड दुर्घटनाका लागि निकै जोखिम छ । यहाँ बारम्बार दुर्घटना भइरहन्छ ।

Jeewan and Rajan Tailors

तानसेन नगरपालिका–१४ अर्गलीका वडाध्यक्ष शोभाखर भट्टराईका अनुसार पाल्पा सदरमुकाम तानसेन र बुटवल आवतजावत गर्नका लागि गुल्मी र पाल्पाको तल्लो भेगलाई जोर्ते सडकको विकल्प अर्गली–रानीमहल–तानसेन सडकखण्ड रहेको छ । तर, यसको प्रयोगमा बेवास्ता भएको उनले बताए । दूरीका हिसाबले पनि ‘अर्गली–रानीमहल–तानसेन’ सडक ‘अर्गली–जोर्ते–तानसेन’ भन्दा एक किलोमिटर कम छ । अर्गली–रानीमहल–तानसेन सडक २६ किलोमिटर लामो छ ।

The Star Family Restaurant

त्यस्तै अर्गली–जोर्ते–तानसेन २७ किलोमिटर रहेको छ । रानीमहल हुँदै जाने सडक फराकिलो, जोखिम निकै कम भएको, रानीमहल घुम्न पनि पाइने, दूरी तथा समयका हिसाबले पनि कम रहेको तर विकल्पका रूपमा प्रयोग नगरिएको उनले बताए । अर्गलीबाट रानीमहलसम्म डबल लेनको १४ किलोमिटर सडक कालिगण्डकी करिडोरअन्तर्गत छ । करिब ४० करोड रुपैयाँ खर्च भएको कालिगण्डकी करिडोर गैंडाकोट–राम्दी–माल्ढुंगा सडक योजनाका प्रमुख शंकर पौडेलले जानकारी दिए ।

यो सडकको निर्माण कार्य सकिएकाले अब यसको प्रयोग गर्न सकिने उनले बताए । जोर्ते सडक निर्माणको क्रममा रहेकाले सडक डिभिजन पाल्पाले उक्त सडक बन्द रहेको सूचना निकाल्छ । तर, सवारी निकै आवतजावत गर्ने यस सडकमा कार्यालयले अर्को सडकको विकल्प नदिइकन मनपरि बन्द गरिरहेको छ । आफूहरूको वैकल्पिक सडकको प्रयोगमा ध्यान नगएको सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणि निरौला स्वीकार गर्छन् । अब बाटो बन्द गर्दा त्यसको विकल्पको पनि दिने उनले बताए ।

‘दुई महिना अझै निर्माणलाई लाग्छ,’ उनले भने, ‘अब वैकल्पिक सडक प्रयोग गर्न पनि अनुरोध गर्छौं ।’ उनले अर्गली–रानीमहल–तानसेन सडकको प्रयोग गर्दा जोखिम निकै कम रहेको र छोटो रहेको बताए । तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनको समग्र विकासका लागि अर्गली–रानीमहल–तानसेन सडक कोशेढुंगा सावित हुने बताउँछन् ।

दुर्घटनाको जोखिम कम रहेको र रानीमहल हुँदै आवतजावत हुने भएकाले यस सडकको प्रयोगमा आफ्नो ध्यान गइरहेको उनले बताए । ‘मैले आफैं उक्त सडकको अधिकतम प्रयोग गर्ने गरेको छु,’ नगरप्रमुख श्रेष्ठले भने, ‘यसको प्रचार गरेर र केही ठाउँ थप सुधारेर अझ व्यस्थित गर्नेछौं ।’ भौगोलिक हिसाबले केही ठाउँमा साना जोखिम रहेकोमा त्यसको सुधार गरेर अझै जोखिम कम गरी नागरिकको सुरक्षित यात्रामा आफूहरू लागिरहेको नगरपालिका प्रमुख श्रेष्ठले बताए ।

, ,

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया