गुल्मीको छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा



सन्तोष महतारा


गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गरिएको छ । गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा पोषणका सबै सुचक मापदण्ड अनुसार पुरा गरेर गाउँपालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले पालिकालाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरे । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको प्रमाणपत्र जिल्ला समन्वय समिति प्रमुख खत्री र जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेलाई हस्तान्तरण गरेका थिए । त्यसपछि गाउँपालिका पोषणमैत्री घोषणा भएको हो ।

Jeewan and Rajan Tailors

महिलाहरुमा गर्भवती रहुन्जेल जाँच, सुत्केरी जाँच, आइरनको मात्रा पुरा, संस्थागत सुत्केरी, बच्चा जन्मेको एक घण्टामा स्तनपान, पुर्ण स्तनपान, समयमै खानपानको सुरुवात, भिटामीन, औषधि र अन्य स्वास्थ्यसँगका सम्बन्धित सबै सुचकहरु गाउँपालिकाका सबै स्वास्थ्य संस्थामा पुरा भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिए । पोषणमैत्री गाउँपालिका हुनको लागि वर्षभरको मेहनतले सबै मापदण्ड पुरा गर्न सकेको पोखरेलले बताए । ‘स्वास्थ्य संवेदनशील क्षेत्र हो, हामी पनि गम्भीर भएर अगाडि बढ्यौं’ उनले भने, “पोषणमैत्री भयो, अब सुनिश्चतता गर्नको लागि निरन्तर कर्म गर्छौँ ।” उनले सबै स्वास्थ्यकर्मीको सहयोगमा पोषणमैत्री हुन सकेको बताए ।

The Star Family Restaurant

पोषणमैत्री पालिका हुनको लागि निर्देशिका बमोजिम लामो समयदेखि स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वम्सेविका, स्थानीय स्वास्थ्य संस्था पोषणमैत्रीयुक्त र गुणस्तरीय सुधारको लागि सहकार्य गरि समन्वय गरिरहेको पोषणविद् लिलबहादुर नेपालीले बताएका छन् । यस अभियानमा १२ वटा अनिवार्य मापदण्ड र १६ वटा पोषणमैत्री सुचकहरु रहेको उनले बताए । यी सुचक सबै पुरा गरेपछि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका भएको पोषणविद् नेपालीले जानकारी दिए ।

पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने क्रममा जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये छत्रकोट गाउँपालिका तेस्रो स्थानमा परेको छ । यसअघि गुल्मीदरबार र धुर्कोट गाउँपालिकाले घोषणा गरिसकेका छन् । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा गर्ने कार्य नेपालमै पहिलोपटक गुल्मीदरबार गाउँपालिकाले घोषणा गरेको थियो । छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको फड्को प्रति कार्यक्रममा प्रशंसा समेत गरिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले पालिकाले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउनको निम्ती स्वास्थ्य क्षेत्रका मापदण्ड पुरा गर्न सफल भएको बताए । उनले अब पनि कुनैपनि बेला स्वास्थ्य संस्थाहरुमा अनुगमन गरिने भएकाले यसलाई जोगाइ राख्न आग्रह गरे ।

गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले नागरिकको स्वास्थ्यप्रति गाउँपालिका गम्भीर भएर अगाडि बढेको बताएका थिए । ‘स्वास्थ्यलाई ख्याल गर्दै गाउँपालिका पोषणमैत्री बन्न सकेको छ’ अध्यक्ष पाण्डेयले भने, “यसको सुनिश्चतता गरेर हामी नागरिकमैत्री बन्छौं ।” आगामी दिनमा यसको सुनिश्चततालाई निरन्तर सुचक पुरा गर्न उनले स्वास्थ्य शाखालाई आग्रह गरेका थिए ।

जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका भएको छत्रकोटलाई प्रशंसा गरे । तर, घोषण मात्र नभई सुनिश्चतता गर्नको लागि उनले प्रेरित गरे । ‘नेपालमै पहिलो गुल्मीबाट पोषणमैत्री अभियान सुरु भएको छ’ जिसस प्रमुख खत्रीले भने, “गुल्मीदरवार, धुर्कोट र छत्रकोटमा यो अभियानले सफलता पाएको छ ।” उनले घोषणा गर्ने अवसरसँगै चुनौती पनि थपिएको बताएका थिए । पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गर्नका निमित्त अहोरात्र खटिने स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया