गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले जिल्ला र प्रदेशस्तरमा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विजयी भएका खेलाडी, विद्यालयका प्रधानाध्यापक र खेलाडीका अभिभावकलाई सम्मान गरेको छ ।
गाउँपालिकाबाट सहभागी भई प्रदेश र जिल्लामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने २० जना खेलाडीलाई ६८ हजार रुपैयाँ नगदसहित सम्मान गरेको र प्रधानाध्यापक तथा अभिभावकलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको इस्मा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लालबहादुर कुवँरले बताए ।
गाउँपालिकाभित्र विभिन्न माध्यामिक विद्यालयमा अध्ययन गर्ने खेलाडीमध्ये रामराज्य माध्यमिक विद्यालयमा अध्ययन गर्ने पूजा नेपाली हाइजम्पमा प्रदेशस्तरमै द्वितीय भएकी थिइन् । उनलाई गाउँपालिकाले ५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
त्यस्तै गाउँपालिकाभित्र विभिन्न माध्यामिक विद्यालयमा अध्ययन गर्ने ९ जना खेलाडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका ९ फरक खेलमा प्रथम भएका थिए । उनीहरुलाई गाउँपालिकाले जनही ४ हजार रुपैयाँले सम्मान गरेको छ ।
त्यस्तै गाउँपालिकाबाट जिल्लास्तरमा सहभागीमध्ये ७ जना द्वितीय हुने खेलाडीलाई जनही ३ हजार रुपैयाँले सम्मान गरिएको र तृतीय हुने ३ जना खेलाडीलाई जनही २ हजार रुपैयाँले सम्मान गरिएको इस्मा गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुवँरले बताइन् । उनले खेलाडीको अथहा मिहेनत, लगनशीलता र प्रयासको कदरस्वरुप सम्मान गरिएको बताइन् ।
त्यस्तै गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले विजयी खेलाडी र खेलमा भाग लिने सम्पूर्ण खेलाडीलाई बधाई दिए । उनले खेल क्षेत्रलाई गाउँपालिकाले महत्वपूर्ण तरिकाले हेरेको र खेलाडीका निमित्त सधैं सकारात्मक रहेको बताए ।
- सुमन महतारा, गुल्मी