गुल्मीमा ३८ जनाले गरे आत्महत्या



Live Gulmi


गुल्मी ।  गुल्मीमा पछिल्लो छ महिनामा ३८ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्क अनुसार साउन देखि हालसम्म झुण्डिएर, बिष सेवन गरेर, खोलामा हाम फालेर र आत्महत्या दुरुत्साहन गरि सोही सङ्ख्यामा आत्महत्या गरेको देखिएको छ ।

यो अवधिमा झुण्डिएर ३३ जना, बिष सेवन गरेर २ जना, खोलामा हाम फालेर २ जना र दुरुत्साहन १ जना गरि कुल ३८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधवराज खरलले जानकारी दिनुभयो । उहाँका अनुसार आत्महत्या गर्नेमा कम्तीमा १४ वर्ष देखि बढीमा ८६ वर्ष उमेरका ब्यक्तिहरु छन् । आत्महत्याको मुख्य कारण डिप्रेशन देखिएको छ ।

Jeewan and Rajan Tailors

आत्महत्याका कारणहरुमा सबैभन्दा बढीमा डिप्रेशनको समस्या देखिने गरेको प्रहरी नायब उपरीक्षक खरेलले बताउनुभयो । “आत्महत्या गर्नेहरु प्राय केही समय पहिले डिप्रेशनमा गएको देखिन्छ” खरेलले भन्नुभयो, “धेरै समस्याका कारण डिप्रेशनमा जाने अनि मृत्युको बाटो रोज्ने गरेको अनुसन्धानबाट खुलेको छ ।” आर्थिक विपन्नता, पारिवारिक कलह, पटकपटकको असफलता, मदिरा सेवन गर्न, लागुऔषधको लतमा फस्नु र केही गर्न नसक्ने कारणले मानिसहरु डिप्रेशनमा गएको देखिन्छ ।

The Star Family Restaurant

गुल्मीमा अघिल्ला वर्षहरुमा पनि आत्महत्या गर्नेहरुको तथ्याङ्क डर लाग्दो रहेको छ । आर्थिक वर्ष २०७७/०७८ मा कुल ९६ जनाले आत्महत्या गरेका छन् । त्यस्तै २०७८/०७९ मा ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा देखिन्छ । अघिल्ला दुई वर्षमा आत्महत्या गर्नेमा एक सय ४७ जना झुण्डिएर, बिष सेवन गरेर १२ जना, दुरुत्साहनमा चार जना, पानीमा हाम फालेर दुई जना र चक्कु प्रहार गरेर एक जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

आत्महत्याको सङ्ख्या बढेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्ला प्रशासन कार्यालय गुल्मी र नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीसँग सहकार्य गरेर जनचेतनाका कार्यक्रम गर्न चालेको छ । प्रहरी कार्यालयका सुचना अधिकारी खरेलका अनुसार रेडियोबाट जनचेतनामूलक अडियोहरु बजाएर अभियान सुरु गरिएको हो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया