गुल्मी । गुल्मीमा स्क्रब टाइफसबाट संक्रमित एक महिलाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका–४ जैसिथोक निवासी ३२ वर्षीया सिता पोखरेलको उपचारका क्रममा मृत्यु भएको हो।
पोखरेल गत साउन १४ गते ज्वरोसहित स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गुल्मी अस्पताल पुगेकी थिइन् ।
अस्पतालमा गरिएको परीक्षणका क्रममा उनलाई किराले टोकेर हुने स्क्रब टाइफस पुष्टि भएको थियो। तर, त्यसबेला उनको स्वास्थ्य अवस्था सामान्य रहेको र गम्भीर लक्षण वा अन्य कुनै जटिलता नदेखिएकाले आवश्यक औषधि दिएर घर पठाइएको अस्पतालले जनाएको छ।
उनी साउन १५ गते पुनः अस्पताल पुगेकी थिइन्। त्यसबेला पनि अवस्था सामान्य रहेको भन्दै चिकित्सकले औषधि सेवन गर्न सल्लाह दिएर घर फर्काएका थिए। त्यसपछि उनी श्रीमान् ध्रुव पोखरेलसँग घर फर्किएकी थिइन्।
तर, स्वास्थ्यमा सुधार नआउँदै साउन १८ गते बिहान घरमै अचानक बेहोस भएपछि परिवारका सदस्यले तत्काल उपचारका लागि गुल्मी अस्पताल ल्याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार बेहोस अवस्थामा अस्पताल ल्याइएकी पोखरेललाई चिकित्सकले परीक्षणपछि मृत घोषणा गरेका हुन्। आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ।
घटनापछि मृतकका आफन्तले सुरुमै अस्पतालमा भर्ना गरेर उपचार नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए। उनीहरूले प्रारम्भिक अवस्थामै अस्पतालले भर्ना गरी उपचार गरेको भए ज्यान जोगिन सक्ने दाबी गरेका छन्।
यता गुल्मी अस्पतालले भने स्क्रब टाइफस पुष्टि भए पनि बिरामीमा त्यसबेला भर्ना गर्नुपर्ने खालका गम्भीर लक्षण वा जटिल अवस्था नदेखिएकाले प्रचलित उपचार विधिअनुसार औषधि दिएर घर पठाइएको जनाएको छ।

स्क्रब टाइफस ओरिएन्टिया सुत्सुगामुशी नामक जीवाणुका कारण हुने संक्रामक रोग हो। यो रोग झाडी तथा घाँसे क्षेत्रमा बस्ने सानो किराको लार्भा (चिगर) ले टोकेपछि मानिसमा सर्छ। वर्षायाम र त्यसपछिको समयमा यसको जोखिम बढी हुने चिकित्सकहरू बताउँछन्।
उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक कमजोरी, शरीरमा बिमिरा देखिने तथा किराले टोकेको स्थानमा कालो दाग देखिनु यस रोगका प्रमुख लक्षण हुन्। समयमै परीक्षण र उपचार नभए फोक्सो, मिर्गौला, कलेजो तथा मस्तिष्कमा असर पुग्न सक्ने र गम्भीर अवस्थामा ज्यानसमेत जान सक्ने चिकित्सकहरूको भनाइ छ।
चिकित्सकहरूले झाडी तथा घाँसे क्षेत्रमा जाँदा शरीर ढाकिने कपडा लगाउन, किराले टोकेको शंका लागेमा वा लगातार ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन तथा चिकित्सकको सल्लाहअनुसार पूरा अवधि औषधि सेवन गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार समयमै पहिचान र उचित उपचार भए स्क्रब टाइफस पूर्ण रूपमा निको हुन सक्ने रोग हो।









