रेसुंगामा १० उत्कृष्ट उद्यमी पुरस्कृत, प्रथमलाई १ लाख रुपैयाँ पुरस्कार



Live Gulmi


गुल्मी । रेसुङ्गा नगरपालिकाले उत्कृष्ट १० जना उद्यमीलाई नगदसहित सम्मान गरेको छ। १३७ उद्यमीबाट छनोट गरिएका १० जनामध्ये बिनोद कृषि फर्मका विनबहादुर कुँवर उत्कृष्ट प्रथम घोषित हुँदै नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

नगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश खनालका अनुसार बाँकी नौ जना उत्कृष्ट उद्यमीले जनही ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। पुरस्कृत हुनेमा अर्जुन रेसुङ्गा मल्टी एग्रो एण्ड टुरिजमका भविन्द्र घर्तीमगर, रेसुङ्गा कृषि तथा पशुपन्छी फर्मका केशव रजाली, लक्ष्मी लक्ष्मण कृषि फर्मका मुक्तिनाथ पन्थी क्षेत्री, गोपाल तरकारी घुम्टी फर्मका गोपाल नेपाली, रेसुङ्गा कृषि, पशुपन्छी तथा मौरीपालन फर्मकी विष्णुमाया श्रीस, कृष्ण कृषि उत्पादन फर्मका कृष्णबहादुर बस्नेत, भगवती कृषि तथा पशुपन्छी फर्मका चुराबहादुर जोगी कुँवर, थापा व्यावसायिक तरकारी फर्मका लिलबहादुर थापा र न्यू रेसुङ्गा जडीबुटी प्रशोधन केन्द्रका झविन्द्रलाल भण्डारी रहेका छन्।

रेसुङ्गा नगरपालिकाको रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत दायित्वसँगको सहकार्यमा सञ्चालन भएको ‘मिसन रोजगार’ कार्यक्रममार्फत उत्कृष्ट उद्यमी छनोट गरिएको हो। कार्यक्रम संयोजक सञ्जय पोखरेलका अनुसार १३७ आवेदनमध्ये ४० व्यवसायिक फर्मलाई सक्षमीकरण कार्यक्रममा समेटिएको थियो। त्यसमध्ये २० उद्यमी स्तरीकरण र अन्तिम चरणमा १० उद्यमी स्तरोन्नतिका लागि छनोट भई पुरस्कृत भएका हुन्।

नगरप्रमुख खिलध्वज पन्थीले उद्यमशीलता र रोजगारी प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गरिएको बताउँदै कृषि तथा पशुपालनमार्फत आत्मनिर्भरता र रोजगारी सिर्जनामा यसले टेवा पुग्ने विश्वास व्यक्त गरे।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया