गुल्मी । नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मी जिल्ला शाखाले आफ्नो ८ औँ स्थापना दिवसको अवसरमा १० पटकभन्दा बढी रक्तदान गरी मानव जीवन बचाउने अभियानमा उल्लेखनीय योगदान पुर्याएका स्वयंसेवी रक्तदातालाई सम्मान गरेको छ।
शनिबार सदरमुकाम तम्घासमा आयोजित एक कार्यक्रममा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवर र समाजका जिल्ला अध्यक्ष भेषराज पाण्डे (ध्रुव) ले सम्मानपत्र र खादा ओढाएर रक्तदाताहरूलाई सम्मान गर्नुभयो। अध्यक्ष पाण्डे स्वयंले हालसम्म १७ पटक रक्तदान गरिसक्नुभएको छ।
सम्मानित हुनेहरूमा ईश्वर पन्थी, दिनेश पन्थी, कृष्ण विश्वकर्मा, रामकृष्ण पौडेल, नमराज मरासिनी, केपी भण्डारी, शिव पाण्डे, देवराज पाण्डे, आनन्द गैरे, देविराम पन्थी, बासुदेव मरासिनी, मनिराम दवाडी, मधु पन्थी, नवीन अर्याल, सूर्य घर्ती र दार्शनिक श्रेष्ठ रहनुभएको छ। कार्यक्रमकै अवसरमा संस्थामा २१ जना नयाँ सदस्य आबद्ध भएका छन्। उनीहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो।
२०७६ साल असार १३ गते स्थापना भएको नेपाल स्वयंसेवी रक्तदाता समाज, गुल्मीले विगत आठ वर्षदेखि जिल्ला अस्पतालसँग निरन्तर समन्वय गरी आकस्मिक अवस्थामा आवश्यक रगतको व्यवस्थापन गर्दै आएको जनाएको छ। राति, बिहान, चाडपर्व, बन्द–हडताल वा प्रतिकूल मौसमको समेत पर्वाह नगरी स्वयंसेवकहरू बिरामीका लागि रगत जुटाउन सक्रिय रूपमा खटिँदै आएको संस्थाको भनाइ छ।
स्थापना दिवसका अवसरमा अध्यक्ष पाण्डेले ‘आपतकालीन रगत व्यवस्थापनका चुनौतीहरू’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संस्थाले रक्तदाता खोज्ने मात्र नभई नयाँ रक्तदाता तयार गर्ने, नियमित रक्तदान शिविर सञ्चालन गर्ने, युवालाई रक्तदानप्रति प्रेरित गर्ने, सामाजिक सञ्जालमार्फत रगत आवश्यक परेका बिरामीका लागि अपिल गर्ने तथा विभिन्न रक्तसमूहका रक्तदाताको अद्यावधिक विवरण राखेर आवश्यक पर्दा तत्काल परिचालन गर्ने कार्य गरिरहेको जानकारी दिनुभयो।
कार्यपत्रमा नियमित रक्तदाताको अभाव, दुर्लभ रक्तसमूहको तत्काल उपलब्धता, गुल्मीको भौगोलिक विकटता, रक्तदानसम्बन्धी गलत धारणा, आकस्मिक समयमा रक्तदाता सम्पर्क गर्नुपर्ने कठिनाइ तथा अस्पताल, रेडक्रस, स्थानीय तह र अन्य निकायबीच अझ प्रभावकारी समन्वयको आवश्यकता मुख्य चुनौतीका रूपमा उल्लेख गरिएको छ।
यी चुनौती समाधानका लागि नियमित रक्तदान संस्कृतिको विकास, विद्यालय तथा क्याम्पसस्तरबाट जनचेतना, स्थानीय तहको वार्षिक कार्यक्रममा रक्तदान अभियान समावेश, दुर्लभ रक्तसमूह भएका व्यक्तिहरूको अद्यावधिक सूची तयार गर्ने तथा युवालाई स्वयंसेवी रक्तदाता अभियानमा जोड्नुपर्नेमा जोड दिइएको छ।
संस्थाका सदस्य ढुण्डिराज पन्थीले गुल्मीमै व्यवस्थित ब्लड बैंक स्थापना अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीकी उपसभापति राधा पन्थीले आपतकालीन रगत आपूर्तिमा संस्थाले पु¥याएको योगदान अत्यन्त महत्वपूर्ण रहेको बताउँदै गुल्मी अस्पतालको नयाँ भवन निर्माणपछि रगतको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन रेडक्रस सहकार्यका लागि तयार रहेको उल्लेख गर्नुभयो।
गुल्मी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सुरेन्द्र क्षेत्रीले अस्पतालमा आफ्नै ब्लड बैंक नहुँदा उपचार सेवामा चुनौती हुने गरेको उल्लेख गर्दै डायलासिसलगायतका सेवामा यस संस्थाको सहयोग अमूल्य रहेको बताउनुभयो।
अस्पताल विकास समितिका अध्यक्ष ई. राजेन्द्रप्रसाद पाण्डेले दशैँअघि सेवा सञ्चालन गर्ने लक्ष्यसहित आवश्यक पूर्वाधार विकास भइरहेको जानकारी दिँदै स्थानीय तह र समाजसँग सहकार्य गरेर रगत व्यवस्थापनलाई थप सुदृढ बनाइने बताउनुभयो। रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष निरञ्जन काउछाले आफ्नो वडाबाट पनि नियमित रक्तदातालाई सम्मान गर्ने परम्परा सुरु गरिएको जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले मानव जीवन बचाउने अत्यन्तै महत्वपूर्ण कार्य गरिरहेको संस्थाको प्रशंसा गर्दै यस्ता सामाजिक अभियानमा स्थानीय तहको आवश्यक सहयोग, समन्वय र सहजीकरण सधैं रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव वीरबहादुर कार्कीले गर्नुभएको थियो।









