गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली कुविन्देका स्वर्गीय लक्ष्मण बहादुर महतको परिवारले रामराज्य माविलाई दुई लाख रुपियाँ बढि सहयोग गरेको छ । रामराज्य माध्यमिक विद्यालयको हीरक महोत्सवको अवसरमा विद्यालयप्रति माया, सम्मान र सामाजिक उत्तरदायित्वको उदाहरणको रुपमा महत परिवारले विद्यालयमा अक्षयकोष स्थापनार्थ नगद दुई लाख ११ हजार १११ रुपियाँ सहयोग गरेको बिद्यालयले जनाएको छ ।
लक्ष्मण महत स्वर्गीय सुरथ बहादुर महत तथा मोतिकला महतका छोरा हुनुहुन्थ्यो । राजन महत, डाक्टर रबिन महत, सोफिया महत र सोनिया महत रामराज्य माविका पूर्व विद्यार्थी भएकाले छोराछोरीहरु र श्रीमती टिकादेवी महत (गोमा) सहित परिवारले बुबाको सम्झनामा अक्षयकोष स्थापनार्थ आर्थिक सहयोग गरेको हो । हीरक महोत्सव जस्तो ऐतिहासिक अवसरमा स्थापित गरिने उक्त अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग र विद्यालयका विविध शैक्षिक तथा सामाजिक गतिविधिमा दीर्घकालीन टेवा पुग्ने विश्वास गरिएको छोरा राजन महतले बताउनुभयो ।
परिवारको यस प्रेरणादायी सहयोगले विद्यालयप्रति पूर्व विद्यार्थीहरुको आत्मीयता, जिम्मेवारी र समर्पणलाई थप उजागर गरेको बिद्यालयका प्रध्यानाध्यापक जगत खड्काले बताउनुभयो ।
उहाँले महत परिवारप्रति विशेष आभार व्यक्त गर्दै यस्तो सहयोगले अन्य पूर्व विद्यार्थी, अभिभावक तथा समाजसेवीहरुलाई समेत शिक्षा क्षेत्रमा योगदान गर्न प्रेरणा मिल्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीहरुले शिक्षा विकासमा गरिएको यस महत्वपूर्ण योगदानलाई उदाहरणीय र अनुकरणीय कार्यका रुपमा प्रशंसा गरेका छन् । हीरक महोत्सवको अवसरमा प्राप्त यस्तो सहयोगले विद्यालयको गौरव अझ उँचो बनाएको छ । भने समाज र शिक्षाबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गर्दै शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने बिद्यालयका प्रध्यानाध्यापक खड्काले बताउनुभयो ।
गुल्मीको इस्मा गाउँपालिका–४ दोहलीको रामराज्य मावि ६० बर्षमा प्रवेश गरेको छ । अग्रजको निकै ठुलो त्याग र समर्पणले २०२२ सालमा रामराज्य मिडिल स्कुलबाट अगाडी बढेको रामराज्यको शैक्षिक यात्रा हीरक उत्सवको दिनसम्म आइपुगेको छ । आगामी जेठ ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने हीरक महोत्सवको लागि आर्थिक सङ्कलन र व्यावस्थापकीय कार्यहरु तिव्र रुपमा भइरहेका छन् ।
अहिलेसम्म हीरक महोत्सवको लागि रामराज्य माविका पुर्व बिद्यार्थी तथा स्थानीय शुभचिन्तकहरु १२१ जना गरेर करिव १२ लाख रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको रामराज्य माविका लेखापाल केशव जिसीले जानकारी दिनुभयो । इस्मा गाउँपालिका–४ कल्यार घर भई वुटवल निवासी अमृत जिसीले पनि दिवङ्गत बुवाको सम्झानामा एक लाख एक हजार १११ रुपियाँ बिद्यालयलाई प्रदान गर्नुभएको छ ।
महोत्सवलाई सफल बनाउन बिद्यालय व्यावस्थापन समिति अध्यक्ष चन्द्र बहादुर महतको संयोजकत्वमा १६१ सदस्यीय मुल आयोजक समिति र १७ सदस्यीय सचिवालय गठन गरिएको छ ।









