गुल्मीमा पनि एमालेको राँकेजुलुससहित विरोध प्रदर्शन, सामान्य झडप



Live Gulmi


गुल्मी । नेकपा एमालेले गुल्मीमा राँकेजुलुससहित विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरी र कार्यकर्ताबीच सामान्य झडप भएको छ।

​एमाले पार्टी कार्यालय मदन-आश्रित स्मृति भवनबाट सुरु भएको राँकेजुलुस लाकुरीमञ्च पुगेर समापन भएको थियो। प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन गरेका थिए।

​नेकपा एमालेका जिल्ला कमिटी सदस्य कृष्ण विश्वकर्माले नाराबाजीसहित सुरु गरेको प्रदर्शनलाई युवा संघ नेपालका केन्द्रीय सदस्य कपुर घिमिरेले सम्बोधन गरेका थिए। उनले सरकारले जनमतको कदर नगरी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै तत्काल रिहाइको माग गरे। रिहा नगरे आन्दोलनले थप उग्र रूप लिने उनले चेतावनी दिए।

​विरोध प्रदर्शनमा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जंग नेपाली र जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछासहितका नेता कार्यकर्ता उपस्थित थिए। प्रहरीले बलिरहेको टायर निभाउन खोज्दा केही बेर सामान्य झडप भएको थियो। स्थिति नियन्त्रणमा आएपछि करिब १० मिनेटसम्म विरोध प्रदर्शन जारी रहेको थियो।

( Jeevan rajan

​एमाले जिल्ला कमिटी गुल्मीले यो सामान्य आन्दोलन मात्र भएको भन्दै अध्यक्षको रिहाइ नभए आगामी दिनमा थप व्यवस्थित र बृहत् सहभागितासहित आन्दोलन गर्ने चेतावनी दिएको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया