गुल्मी । गुल्मी जिल्लामा कार्यरत निर्वाचन प्रहरी सामाजिक कार्यमा सक्रिय रूपमा जुट्न थालेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो ।
शिवरात्री पर्वको पूर्वसन्ध्यामा प्रहरीले मन्दिर क्षेत्र सरसफाइ गरिएको छ । प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर -७ भुजेल खर्कमा प्रहरी निरीक्षक विवेक घलेको कमाण्डमा मन्दिर सरसफाइ गरिएको हो। कार्यक्रममा नेपाल प्रहरीका १० जना, निर्वाचन प्रहरीका ८० जना तथा नगर प्रहरीको टोलीको सहभागिता रहेको थियो।
सरसफाई अभियान अन्तर्गत नगर क्षेत्रभित्र रहेका विभिन्न मठमन्दिर तथा धार्मिक स्थलहरूको सफाइ गरिएको थियो। धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र वातावरण स्वच्छ राख्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले सामूहिक रूपमा फोहोर संकलन, झारपात हटाउने, परिसर व्यवस्थापन गर्ने लगायतका कार्य गरेका थिए।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमले प्रहरी र समुदायबीच आपसी विश्वास, सहकार्य र सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सामाजिक कार्यमार्फत प्रहरी संगठन केवल सुरक्षा निकाय मात्र नभई समाजप्रति उत्तरदायी र संवेदनशील निकायका रूपमा प्रस्तुत हुँदै आएको घलेले बताए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रहरी उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।









