गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ स्थित छल्दीटारीमा निर्माण गरिएको शिवालय मन्दिरको विधिवत् शुभारम्भ गरिएको छ । इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको मन्दिरको गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवर र भारतको केदारनाथबाट चार महिनाको पैदल यात्रामा आएका शिव महाराजले संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।
धार्मिक विधिपूर्वक सम्पन्न भएको शुभारम्भ कार्यक्रममा वैदिक मन्त्रोच्चारणसहित पूजा–अर्चना गरिएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, धार्मिक व्यक्तित्व तथा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्थानीयवासीको आस्थाको केन्द्रका रूपमा रहेको छल्दी खोला किनारमा मन्दिर निर्माण भएपछि धार्मिक गतिविधि थप व्यवस्थित हुने विश्वास गरिएको छ । शुभारम्भ कार्यक्रममा मन्दिरका लागि शिवलिङ्ग सहयोग प्रदान गर्ने बुटवल निवासी श्यामबहादुर थापा लगायत अन्य सहयोगी तथा स्थानीय व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।
मन्दिर निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउने सबैप्रति छल्दीटारी टोल विकास समितिका अध्यक्ष राजन कुँवरले बताए । सहज पहुँच र प्राकृतिक सुन्दरताले भरिपूर्ण छल्दीटारी क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने अपेक्षा गरिएको छ ।
इस्मा गाउँपालिकाकी उपाध्यक्ष पार्वती कुँवरले मन्दिर केवल धार्मिक संरचना मात्र नभई सामाजिक एकता र संस्कृतिको प्रतीक भएको बताइन् । उनले पालिका भित्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण र विकास प्राथमिकतामा रहेको बताइन ।
मन्दिर शुभारम्भपछि स्थानीयवासीहरूमा उत्साह छाएको छ । उनीहरूले मन्दिर निर्माणले धार्मिक गतिविधि सहज भएको र चाडपर्व तथा विशेष अवसरमा सामूहिक पूजाआजाको केन्द्र बनेको बताएका छन् ।









