गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा रहेको फोर्टिन स्टार युवा क्लबको आयोजनामा आजदेखि पौष १२ गतेसम्म विद्यालयस्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ।
क्लबले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि माध्यमिक विद्यालय तह (कक्षा १० सम्म) का विद्यार्थीहरूको सहभागितामा प्रतियोगिता आयोजना गरिएको क्लब अध्यक्ष नारायण आचार्यले जानकारी दिए।
क्लबको १५औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन हुने ‘चौथो फोर्टिन स्टार कप–२०८२’ मा प्रथम हुने टोलीले ३५ हजार रुपैयाँ र द्वितीय हुने टोलीले २५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। क्लबले आफ्नो वार्षिकोत्सवका अवसरमा विगतका वर्षहरूमा पनि नियमित रूपमा फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्ष प्रतियोगितामा १४ वटा विद्यालयको सहभागिता रहेको जानकारी पत्रकार सम्मेलनमार्फत गराइएको हो।
शनिबार इस्मा गाउँपालिका–१ स्थित बी.पी. पार्कमा एक कार्यक्रमका बीच प्रतियोगिताको टाइसिट सम्पन्न गरिएको थियो। प्रतियोगिताका सबै खेलहरू सोही मैदानमा सञ्चालन हुनेछन्।
आज पौष ८ गते सिद्दबाबा मावि र पृथ्वी मावि तथा जनसहयोग मावि र पालुका माविबीच पहिलो चरणका खेलहरू हुनेछन्। पौष ९ गते गण्डकी बोर्डिङ स्कुल र रिडर्स पब्लिक हाई स्कुल, आदर्श विद्या आश्रम र ब्रिलियन्ट युनाइटेड एकेडेमी, उपल्लो तम्घास मावि र लिटिल स्टार पब्लिक हाई स्कुल, अर्जुन इङ्लिस बोर्डिङ स्कुल र जनता माविबीच खेल हुने कार्यक्रम रहेको छ। त्यसपछि पहिलो चरणका अन्य खेलहरू सञ्चालन हुनेछन्।
शनिबार नै प्रथम, द्वितीय तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरूका लागि प्रदान गरिने ट्रफीहरू समेत अनावरण गरिएको थियो। गाउँ–गाउँमा लुकेर रहेका प्रतिभाहरूको पहिचान र विकास गर्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष आचार्यले बताए।









