गुल्मी । लक्ष्मी बि.क ३६ वर्षकी कार्यालय सहयोगी हुन्। उनका श्रीमान् वैदेशिक रोजगारको शिलसिलामा विदेशमा हुनुहुन्छ। घरमा दुई छोराछोरी छन्। बिहान–बेलुका उनीहरूकै हेरचाह र दिउँसो छोराछोरी स्कुल गएको समयमा कार्यालय पुग्नु–उनको दैनिकी हो। छोराछोरी फर्किदा उनी पनि कामबाट घर पुगिसक्छिन्।
२०७४ सालमा घरको अवस्थालाई हेरेर लक्ष्मी बि.क रेसुङ्गा नगरपालिका–८ मा कार्यालय सहयोगीको रूपमा नियुक्त भएकी थिइन्। वडाको सरसफाइ तथा सामान्य कार्यालयीय काम उनीकै जिम्मेवारी थियो।
तर आठ वर्षको अन्तरालमा उनले आफ्नो जिम्मेवारी मात्र सीमित राखिनन्। आज उनी वडाको करिब ९५ प्रतिशत काम सहजै गर्न सक्ने दक्ष कर्मचारी बनेकी छन्।
कहिलेकाहीँ वडा सचिव महत्त्वपूर्ण कामका कारण विदामा हुँदा सेवाग्राहीलाई फर्किन नपरोस् भनेर आवश्यक काम लक्ष्मीले नै सकेर पठाइदिन्थिन्।
जन्मदर्ता, मृत्युदर्ता, बसाइँसराइ, विवाह दर्ता लगायत पञ्जिकरणसम्बन्धी अधिकांश सिफारिसका काम सचिव अनुपस्थित हुँदा उनले नै सम्हाल्दै आएकी छन्।
कम्प्युटरबारे विशेष ज्ञान नभएकी उनी कार्यालय समयमा आफ्नो काम सकेपछि बाँकी समयमा निरन्तर सिक्दै गइन्। “सुरुमा हेरेर–हेरेर सिकेँ, पछि सकिन्छ जस्तो लागेपछि सचिवज्यूले पनि सिक्न धेरै प्रेरित गर्नुभयो,” उनी भन्छिन्।
उनको काम देखेर सेवाग्राही पनि खुसी छन्।
आजै सिफारिस बनाउन वडामा आएकी रेसुङ्गा–८ की दीपा मगर भन्छिन्, “सचिवज्यू नभए पनि वडाको काम सहजै भयो। यस्तो सक्षम व्यक्ति राखिएकोमा खुसी लाग्यो।”
वडा अध्यक्ष निरन्जन थापा पनि उनीप्रति निकै सन्तुष्ट देखिन्छन्।
“कार्यालय सहयोगीले आफ्नो काम मात्र नगरी फुर्सदको समयमा सचिवज्यूसँग सहकार्य गर्दै सेवाग्राहीलाई सेवा दिएको देख्दा निकै हर्षित छु,” अध्यक्ष थापा भन्छन्।
“यस्ता कर्मचारी हुँदा जनशक्ति र आर्थिक दुवै बचत हुन्छ। बाँकी स्रोत विकास निर्माणमा लगाउन सकिन्छ।”
उनका अनुसार एउटै व्यक्तिले दक्षतापूर्वक दोहोरो काम गर्न सकेपछि वडालाई थप कर्मचारी राख्नुपर्ने आवश्यकता पनि छैन।
लक्ष्मी बि.क आज ‘चाहना, लगन र सिक्ने इच्छाशक्ति भए कार्यालय सहयोगीले पनि व्यापक जिम्मेवारी सम्हाल्न सक्छ’ भन्ने उदाहरणीय पात्र बनेकी छिन्।









