गुल्मी । गुल्मीमा जंगली बिषालु च्याउ खाँदा एकै परिवारका पाँचजनासहित छ जना बिरामी परेका छन्। गुल्मीदरबार गाउँपालिका–१ बलिथुमका रजाली परिवारले बुधबार बिहान खानाको समयमा जंगली च्याउ खाँदा उनीहरू बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
बिरामी पर्नेमा ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया बिपना रजाली, १० वर्षीय किरण रजाली तथा छिमेकी ३६ वर्षीया बिपना रजाली रहेका छन्। उनीहरूको स्थानीय शुभ सारथी मेडिकल हल, मजुवामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बिरामीहरूको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार च्याउ खाएपछि उनीहरूलाई वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने लगायतका लक्षण देखिएका थिए। उपचारका लागि मेडिकल पुगेपछि मात्र प्रहरीलाई खबर गरिएको थियाे ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी मजुवाबाट प्रहरी हवल्दार तिलक हिस्कीको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
प्रहरीका अनुसार जंगली च्याउमध्ये धेरै प्रजाति विषालु हुने भएकाले त्यसलाई तरकारीको रूपमा प्रयोग नगर्न आम नागरिकलाई आग्रह गरिएको छ। अज्ञात च्याउ खाँदा प्राणघातक परिणाम समेत हुन सक्ने भएकाले अत्यन्त सावधानी अपनाउनुपर्ने हुन्छ।
यसअघि पनि जिल्लाका विभिन्न स्थानमा जंगली च्याउ खाँदा बिरामी हुने र ज्यान जाने घटना दर्ता हुँदै आएका छन्। चिकित्सकहरूले पनि पहिचान नभएका च्याउ नखान र गाउँमा सजगता फैलाउनुपर्ने सुझाव दिएका छन्।









