गुल्मी । आदर्श विद्या आश्रमलाई स्तब्ध पार्दै छैटौं पुल्चोक कप-२०८२ को उपाधि जनसहयोग माध्यमिक विद्यालयले हात पारेको छ । सातौं वार्षिकोत्सबको अवसरमा छैटौं प्रतियोगिता उनायचौर खेलमैदानमा पुल्चोक स्पोर्टस क्लबको आयोजना र रेसुंगा नगरपालिकाको मुख्य प्रायोजनमा कक्षा १० सम्मका छात्रा विद्यार्थीको उक्त प्रतियोगिता संचालन भएको थियो ।
फाइनल खेलको सुरुवाती चरणमै मध्यम खालको अवसर पाएको जनसहयोगले उक्त मौका सहजै गुमायो । पहिलो हाफको सम्पूर्ण समयमा जनसहयोगले आदर्श विद्या आश्रमलाई दबाबमा राखेको थियो । जनसहयोगले दोस्रो मौकामा विपक्षी गोलकिपरको सिधै हातमा बल दियो ।
१८ औं मिनेटमा पाएको अर्को अवसर पनि जनसहयोगले गोलमा बदल्न सकेन । दबाबकै बीच आदर्श विद्या आश्रमले ३० औं मिनेटमा पाएको एउटा अवसर पनि गुमाउन पुग्यो । लगत्तै ३४ औं मिनेटमा पुनः जनसहयोगले सुनौलो अवसर पाएपनि उक्त अवसर अग्रता दिलाउने अवस्थामा भने पुर्याउन सकेको थिएन ।
प्रतिस्पर्धात्मक जस्तो देखिएपनि जनसहयोगको पूर्ण दबाबमा रहेको पहिलो ३५ मिनेटको हाफ खेल गोलरहित बन्न पुगेको थियो । जनसहयोगको पटकपटकको अवसरलाई आदर्श विद्या आश्रमकी गोलरक्षक अप्सना खत्रीले असफल बनाएकी थिइन् ।
७० मिनेटमा खेलाइएको उक्त खेलमा दोस्रो हाफको खेल भने रोचक प्रतिस्पर्धा बनेको थियो । आदर्श विद्या आश्रमले दुई पटक निकै राम्रो अवसर पाउँदा पनि उक्त अवसर गोलमा भने परिवर्तन गर्न सकेको थिएन । खेलको ६१ औं जनसहयोगकी खेलाडी एलिशा गुरुङले दायाँतर्फबाट पास गरेको बललाई रचना गुरुङले सहजै गोलमा परिणत गरिन् । त्यसपछि जनसहयोगले १—० अन्तरको अग्रता पायो ।
त्यसपछि पनि आदर्शले पाएको अवसर गुमाउँदा र थप गरिएको ३ मिनेटको समयलाई सदुपयोग गर्न नसक्दा आदर्श विद्या आश्रम उपबिजेतामा सीमित हुनुपर्यो । अन्ततः आदर्श विद्या आश्रमलाई स्तब्ध पार्दै छैटौं पुल्चोक कप—२०८२ को उपाधि जनसहयोग माध्यमिक विद्यालयले हात पार्न सफल भयो । क्लबका खेल संयोजक तस्लिम अलीका अनुसार, आदर्श विद्या आश्रमले सेमिफाइनलमा रिडर्स पब्लिक हाई स्कुल र जनसहयोग माध्यमिक विद्यालयले सेमिफाइनलमा महेन्द्र माध्यमिक विद्यालयलाई पराजित गर्दै फाइल खेलमा स्थान पक्का गरेका थिए । तम्घास स्थित आदर्श विद्या आश्रम र रेसुङ्गा नगरपालिका—५ स्थित जनसहयोग माध्यमिक बीच फाइनल भिडन्त भएको थियो ।
प्रतियोगितामा उपाधि बिजेता जनसहयोगले ३४ हजार चार सय ४४ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र जितेको छ । त्यस्तै उपबिजेता आदर्श विद्या आश्रमले २३ हजार तीन सय ३३ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको खेल संयोजक अलीले बताए । १८ गतेदेखि संचालित यस प्रतियोगितामा ११ समूह सहभागी भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले यस्ता प्रतियोगिताबाट राम्रा प्रतिभा बाहिर आउने बताएकी थिइन् । ‘पुल्चोकले गर्नेजस्ता प्रतियोगिता धेरै आवश्यक छ,’ उनले भनिन्, ‘नगरपालिका सहयोग गर्न तयार छ, खेल क्षेत्र हाम्रो प्राथामिकतामा छ ।’ उनले बिजेता र उपबिजेता दुवै समूहलाई बधाई पनि दिएकी थिइन् ।
पुल्चोक स्पोर्टस क्लबका अध्यक्ष प्रकाश मरासिनीले क्लबले विगत छ वर्षदेखि यस्तै प्रतियोगिता संचाल गरिरहेको बताए । उनले चिदिचौर खेलमैदान निर्माणाधीन हुँदा उनायचौरमा खेलाइएको खेलमा पनि उत्साहजनक सहभागी भएकोमा दर्शकलाई धन्यवाद दिँदै खेल क्षेत्रलाई माथि उकास्न यस्ता प्रतियोगिता गरिरहेको बताए ।









