गुल्मी । नेपाल सरकारको हालैको बजेट वक्तव्यमा सुनचाँदीको भन्सार दर वृद्धि गरिएको भन्दै गुल्मीका सुनचाँदी व्यवसायीहरू आन्दोलित हुने भएका छन्। गुल्मी सुनचाँदी व्यवसायी संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले धार्मिक, सांस्कृतिक, सामाजिक तथा परम्परागत रूपमा महत्वपूर्ण स्थान ओगटेको सुनचाँदीको प्रयोगमा प्रत्यक्ष असर पर्ने बताएको छ।
संघका अध्यक्ष झबिन्द्र बिश्वकर्माले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “सुनचाँदीलाई विलासी वस्तु सरह मूल्यांकन गर्नु दुखद कुरा हो। यो वस्तु केवल सुखका लागि प्रयोग गरिने होइन, सामाजिक र धार्मिक अनुष्ठानमा आवश्यक वस्तुको रूपमा प्रयोग हुँदै आएको छ।” विज्ञप्तिमा सरकारको निर्णयले आयातमा निर्भर सुनचाँदीको बजार धराशायी हुने चेतावनी दिइएको छ।
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा सुनमा र चाँदीमा २ प्रतिशत विलासी कर लगाएको छ। साथै हिरामा १३ प्रतिशत भ्याट लगाएको छ । संघका अनुसार यसले बजारमा सुनचाँदीको मूल्यमा अत्यधिक वृद्धि हुने, माग घट्ने, कालोबजारी फस्टाउने, र हजारौं व्यवसाय र लाखौं परिवारको रोजगारी संकटमा पर्ने सम्भावना रहेको छ।
गुल्मीका सुनचाँदी व्यवसायीहरूले उक्त निर्णयको विरोधमा उद्योग वाणिज्य संघ गुल्मी, चेम्बर अफ कमर्स गुल्मी र अन्य व्यवसायिक संघ–संस्थाको समन्वयमा चरणबद्ध आन्दोलनको तयारी गरेका छन्। संघले सरकारले चाँडै उक्त निर्णय फिर्ता नलिए देशभरका सुनचाँदी व्यवसायीहरू पूर्ण रूपमा व्यवसाय बन्द गर्दै आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।
संघले महासन्योजन समिति गठन भइसकेको जानकारी दिँदै सबै सरोकारवाला निकायलाई साथ र समर्थन गर्न अपिल गरेको छ।









