गुल्मी । गुल्मीको मदाने गाउँपालिका–६ घ्युउपानीकी एक महिला घाँस काट्ने क्रममा भीरबाट लडेर ज्यान गुमाएकी छन्। काउले भालुखोला सामुदायिक वनमा घाँस काट्न गएकी करिब ३०/३१ वर्षीया लक्ष्मी थापा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर सारुले जानकारी दिए।
थापा असार १२ गते दिउँसो करिब ४ बजे घरबाट घाँस काट्न निस्किएकी थिइन्। साँझसम्म घर नफर्किएपछि परिवारजन र छिमेकीहरूले खोजी गर्दा किरा चौर नजिकको भीरबाट करिब १५–२० मिटर तल खसेको अवस्थामा उनी मृत भेटिएको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ।
प्रहरीका अनुसार मृतकका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् भने उनका दुई छोरा छन्। घटनास्थल इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट करिब ६–७ किलोमिटर दक्षिणपश्चिममा पर्दछ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।