पूर्वाधारसँग नागरिक जोड्दै रेसुङ्गा नगरपालिका



सुमन महतारा


गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका पछिल्ला वर्षहरूमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नागरिकका आवश्यकता र सुविधालाई केन्द्रमा राखेर योजनाबद्ध रूपमा अघि बढिरहेको छ। ‘पूर्वाधारसँग नागरिक’ भन्ने नारासहित नगरले विकास प्रक्रिया जनताको सहभागिता र पहुँचमा आधारित बनाउने प्रयास गरेको छ।

सडक विस्तार, खानेपानी, विद्युत् सेवा, विद्यालय स्तरोन्नति, स्वास्थ्य संस्था सुदृढीकरण, सरसफाइ तथा सार्वजनिक भवन निर्माणजस्ता क्षेत्रमा नगरपालिकाले उल्लेखनीय प्रगति गरेको छ। अधिकांश योजना नागरिककै माग र प्राथमिकता पहिचानपश्चात सुरु हुने भएकाले जनस्तरमा सकारात्मक प्रभाव देखिन थालेको छ।

नगरप्रमुख खिलध्वज पन्थी भन्छन्, “हामी पूर्वाधार निर्माणलाई जनताको आवश्यकता र सहभागितामा आधारित ढंगले अघि बढाइरहेका छौं। योजना छनोटदेखि कार्यान्वयनसम्म जनसहभागिता सुनिश्चित गरेका छौँ। सडक, स्वास्थ्य, शिक्षा, खानेपानी जस्ता क्षेत्रमा गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं। पूर्वाधारमार्फत नागरिकसँगको सम्बन्ध बलियो बनाउँदै समावेशी र दीगो विकासतर्फ अघि बढिरहेका छौँ।”

चालु आर्थिक वर्ष २०८२/८३ का लागि नगरपालिकाले ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ, जसमा उल्लेख्य हिस्सा पूर्वाधार विकासका योजनामा केन्द्रित गरिएको छ।

( Jeevan rajan

सडक सञ्जाल विस्तार योजनाअन्तर्गत मुख्य सडक सुधार, आन्तरिक बाटोमा ग्राभेल, ढल निकास र नाली निर्माण कार्य भइरहेको छ। खानेपानी नपुगेका वडाहरूमा नयाँ योजना सञ्चालनमा ल्याइएका छन्। विद्यालयहरूको भौतिक संरचना सुधारका साथै शिक्षक व्यवस्थापनको जिम्मा पनि नगरपालिकाले लिएको छ।

स्वास्थ्य सेवामा समेत नगरपालिका गम्भीर देखिएको छ। आवश्यक स्वास्थ्यकर्मीको व्यवस्थापन, औषधि तथा उपकरण आपूर्ति, सुरक्षित मातृत्व कार्यक्रम, तथा नियमित स्वास्थ्य शिविर सञ्चालनमार्फत सेवा सुदृढ बनाइएको छ।

स्थानीयवासीहरूको पनि योजनामा सहभागिता बढेको छ। वडास्तरमा योजना छनोट, सामाजिक परीक्षण र अनुगमन समितिहरूमा नागरिकको सक्रिय सहभागिताले पारदर्शिता र उत्तरदायित्वमा सकारात्मक प्रभाव पारेको छ।

यस्तै, नगरपालिकाले डिजिटल प्रविधिको प्रयोगमार्फत योजना अनुगमन प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ। भौतिक पूर्वाधार मात्र होइन, सामाजिक विकास, वातावरण संरक्षण र लैंगिक समानताजस्ता विषयहरूमा समेत सक्रियता देखिएको छ।

पूर्वाधारमार्फत नागरिकसँगको प्रत्यक्ष सम्बन्ध बलियो बनाउँदै रेसुङ्गा नगरपालिका सेवा प्रवाह र विकासको नयाँ ढाँचातर्फ अग्रसर छ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया