अर्घाखाँचीकोे भैरव नाच गुल्मीमा प्रर्दशन



अनिल खत्री


गुल्मी । अर्घाखाँचीका नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा प्रर्दशन गरिएको छ । नेवा खल गुल्मीको आयोजनामा तम्घास बजारको चिदीचौरमा गएराती प्रर्दशन गरिएको हो ।

जिल्लामा आजभन्दा ४० वर्ष पहिले प्रर्दशन भएको थियो । भैरव नाचलाई अहिलेका पिडीहरु समक्ष जानकार गराउने उदेश्यले आर्घाखाँचीबाट भैरव नचरी ल्याएर प्रर्दशन गरिएको नेवा खल गुल्मीका हरिकुमार श्रेष्ठले बताउनुभयो । भैरव नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक नाचका रूपमा रहेको छ । भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कार्तिक औँसीसम्म नाचिन्छ ।
देउसी, भैलीको मादल बज्नु अगाडि यस नाचलाई विसर्जन गर्नुपर्छ भन्ने स्थानीय मान्यता छ । नाच हेर्न गुल्मी सदरमुकाम तम्घासमा विभिन्न ठाउँबाट बाक्लो उपस्थिति रहेको थियो । भैरव नाच सात ताल (पटक)सम्म नाचिन्छ । सामान्यतया एउटा ताल २० मिनेटको हुन्छ । बीचमा छोटो विश्रामपछि पुनः सुरु हुन्छ ।

Jeewan and Rajan Tailors

यसमा काल भैरव मुख्य हुन्छ । श्वेत भैरव र रक्तभैरव सहायक हुन् । साथमा डङ्किनी पनि हुने गर्दछन् । भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतीकका रुपमा पूजा गरिन्छ । डङ्किनीलाई पनि पूजा गरिन्छ । डङ्किनी नारी स्वरुपको हुन्छ । पुरुष नर्तक महिलाको भेषमा शृङ्गार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अङ्गका रुपमा रहँदै आएको छ । तीनवटै भैरव आनो भूमिकाअनुसारका रङमा ख्वापः (खप्पर), कपडा, चमर (चौरी गाईको पुच्छर), मालासहित शृङ्गार गरी भगवान्को विशाल आकृति निर्माण गरिने गरिन्छ । भैरवलाई आकर्षक बनाउन समयसापेक्ष शृङ्गार सामग्रीको प्रयोग गरिन्छ ।
यसपछि तान्त्रिक विधिबाट पूजा गरी नाच सुरु गरिन्छ ।

The Star Family Restaurant

बाजा बजाउनेहरू मुख्यरूपमा नेवार समुदायकै भए पनि सहायक बाद्यवादकमा अन्य जातजातिका पनि सहभागी हुन्छन् ।
यसमा मुख्य गरी खीं बाजा (मिर्दुङ)लाई गुरु मादलका रूपमा राखिन्छ भने साथमा झुर्मा (याली), सहनाइ, धङ्कुरीलगायतका वाद्यवादन प्रयोग गरिन्छ । सातवटै ताल (पटक)को लय फरकफरक हुन्छ । तान्त्रिक विद्यामा निपूणहरूलाई विशेषगरी पाँच ताल र छ तालमा भैरव उत्रिन्छ । यसरी काम्नेमा दर्शक पनि हुन सक्छन् र नर्तक पनि ।

भैरव नाचको तान्त्रिक पूजा विधिमा गल्ती भए यसले क्षति पनि पुर्‍याउँछ भन्ने जनविश्वास भएकाले यो नाचप्रति धेरै सचेत हुने गर्दछन् । नाचलाई रोचक बनाउन लाठी नाच (टाकुनडोली), घोडा नाच, चरा नाच, लाहुरे लाहुरेनी नाचलगायतका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिने गरिन्छ । नेवार समुदायका विभिन्न प्रचलित एवं ऐतिहासिक नाचमध्येको एक भैरव (भैरम) नाच यस समुदायभित्र मात्रै होइन अन्य समुदायका बीचमा पनि लोकप्रिय छ । भैरव नाच पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बाग्लुङ, दैलेखलगायतका क्षेत्रमा नाचिन्छ । यसको शैली भिन्नाभिन्नै छ । अर्घाखाँचीको भैरव नाच गुल्मी, प्यूठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया